प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
बुर्तिबाङ, बाग्लुङ । बाग्लुङमा नदी तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक वेपत्ता भएका छन्।
बुधबार दिउँसो जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित उत्तरगंगा नदीले बगाउँदा स्थानीय ५४ वर्षीय नर बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। त्यस्तै सोही ठाउँका २२ वर्षीय सेते विक वेपत्ता भएका छन्।
पाखाथरबाट नवीगाउँ जाने क्रममा उनीहरुलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी तथा प्रवक्ता झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए।
डिसी नेपालसंग कुरा गर्दै उनले भने, ‘पुलबाट जाँदा टाढा पर्ने हुँदा सधैं तर्ने गरेको ठाउँबाट तर्दै गर्दा बढेको भेलले बगाएको हुनसक्ने अनुमान गरिएको छ।’
मृतक नरबहादुरको शव करिव ५ सय मिटर तल फेला परेको र बगेका सेते विकको अवस्था अज्ञात छ। वेपत्ता भएका सेतेको खोजी कार्य भैरहेको डिएसपी भट्टराईले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij