सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

दैविक शक्ति भएकाे मन्दिर ‘जहाँ आफै घण्ट बज्छ’

  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६



  • दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् ।

    यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।

    अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताए । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । मगरका अनुसार डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।

    “प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस गर्यौ,” अध्यक्ष मगर भने – “सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेका छौं ।” मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।

    अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउछन् । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उनले भने – “यो दैवीशक्तिको चमत्कार हो ।”

    विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष मगर बताउछन् । “घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चबलि लिएर आएको समयमा घण्ट हल्लन्छ,” उनले भने – “किनकि त्यो बेला देवी खुशी हुनुहुन्छ ।” आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताए ।

    मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताए । उनका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् ।

    केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुगेका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिएका थिए । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारण नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीयवासी बताउँछन् ।

    जीर्ण अवस्थामा रहेको मन्दिरको पुनः निर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनः निर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनः निर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए । मन्दिर पुनः निर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ ।

    मन्दिर क्षेत्रमा वनभोज स्थल पनि निर्माण गरिने घिमिरेले बताए । डिपिआर अनुसारका सबै संरचना निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । घिमिरेका अनुसार पुनःनिर्माण सम्पन्न भएपछि वार्षिक रु १० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

    अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।

    अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij