प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६
काठमाडौँ । पोल्याण्ड, पोर्चुगल, टर्कीलगायतका युरोपेली मुलुकमा पठाउने भन्दै ठगी गर्ने क्रम बढेको दोहास्थित नेपाल राजदूतावासले जनाएको छ।
केहि दिन यता युरोप लगायतका देशहरूमा पठाउने भन्दै कतार पुर्याएर अलपत्र पार्नेको उजुरी बढेपछि दूतावासले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ।
नेपालबाट पोल्याण्ड लगायतका युरोपेली मुलुकहरूमा पठाइदिने भनी नेपाली युवाहरूलाई कतार पुर्याएर अलपत्र पारेको र ठूलो रकम असुल गरी सम्पर्कमा नरहने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ।

नेपालबाट कुनै तेश्रो मुलुक जानका लागि कतार आई रहनु नपर्ने र कतारको वर्किङ भिसा प्राप्त गरेको अवस्थामा अन्य तेश्रो मुलुक जान पाइने प्रावधान नभएको दूतावासले सूचनामा उल्लेख गरेको छ।
केही व्यक्तिले नेपाली युवाहरूको आकर्षक जागिरको प्रलोभन देखाई पोल्याण्डलगायत युरोपेली मुलुक पुर्याउने नाममा ठुलै मात्रामा रकम असूल गरिरहेको बुझिन आएको जनाउँदै कसैको सम्पर्कमा यस्ता व्यक्तिहरू आएमा त्यस्ता व्यक्तिहरूको भनाइमा विश्वास नगर्नसमेत दुतावासले अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij