प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६
चीनमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा एक मानिसलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन्।
पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ। ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ।
कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन्। यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए। उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो।
सेरब्रल पोल्जी बाल्यकालदेखि नै देखिन्छ। उक्त परिस्थिति भएका मानिसमा हिँडडुल र शारीरिक समन्वयको समस्या हुन्छ। केही पीडित व्यक्तिमा गम्भीर खालको अपाङ्गता पनि हुन्छ। चिनियाँ अधिकारीहरूले पहिला ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ।
चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन्। तर ती देशमा अहिलेसम्म फिलिपिन्समा एक जनाबाहेक अरूको मृत्यु भएको छैन।
विश्व स्वास्थ्य सङ्गगठनले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij