आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना भाइरसको खोप विकासमा चोरबाटो र ‘फोहरी खेल’

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • बीबीसी। अगस्ट महिनाको ११ तारिखमा मस्कोले कोभिड-१९ विरुद्ध प्रयोग गर्न सकिने खोप ‘स्पुत्निक पाँच’ आधिकारिक रूपमा दर्ता गरेको खबर सार्वजनिक गर्‍यो।

    सन् १९५७ मा सोभियत सङ्घले स्पुत्निक भूउपग्रह सार्वजनिक गरेको थियो र अन्तरिक्षको दौडमा बाजी मारेको थियो। अहिले रुसले चिकित्सा विज्ञानको दायरा पनि फराकिलो पारिरहेको बताइरहेको छ।

    तर आलोचकले भने उसले खोप विकास गर्ने विषयमा निकै बल दिइरहेको दाबी गर्छन्। ‘राष्ट्रवाद’बारे चर्चा भइरहँदा यो दौडमा चोरबाटो रोजेको, जासुसी र अनावश्यक जोखिम मोलेको जस्ता आरोप लागेका छन्।

    कोभिड-१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक हो। “चिकित्सकीय सामग्रीका लागि राजनीतिक दाउपेच यति विधि तीव्र भएको मैले कहिल्यै देखेको थिइन,” अमेरिकास्थित ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टीनले भने।

    उनका अनुसार शक्तिराष्ट्रले वैज्ञानिक कुशलता देखाउने र उनीहरूको राजनीतिक व्यवस्था अरूको भन्दा राम्रो रहेको प्रमाणित गर्ने अवसरका रूपमा हेरेका हुँदा कोभिड-१९ को खोपलाई राजनीतिक प्रतीकका रूपमा लिइएको छ।

    विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुसार हाल खोप विकास गर्ने दौडमा करिब आधा दर्जन मुलुक छन् जो तेस्रो तहको परीक्षणको अन्त्यतिर छन्।

    त्यसमा चीनका तीन, यूकेको एक, अमेरिकाको एक र जर्मनी-अमेरिकाको संयुक्त प्रयास एक रहेका छन्। खोप विकास गर्न सामान्यतया वर्षौँ लाग्छ। खोप विकास गर्न लागिपरेका सबैले गति तीव्र पार्न खोजिरहेका छन् तर रुसले खोप दर्ता नै गरिसकेको अवस्थामा चोरबाटो रोजेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

    गत जुलाईमा यूके, अमेरिका र क्यानडाले रुसी जासुसहरूले खोप विकासबारे सूचना ह्याक गरेको आरोप लगाएका थिए तर रुसले त्यसको खण्डन गरेको थियो।

    त्यसको अर्को हप्ता अमेरिकाले चिनियाँ ह्याकरहरूले पनि त्यस्तै प्रयास गरेको आरोप लगाएका थिए। चीनले पनि त्यो आरोपको खण्डन गरेको छ। “छोटो बाटो पक्कै पनि लिइएको छ। विशेषगरी रुसको हकमा,” काउन्सिल अन फरेन रिलेसन्सको ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमस बोलीकीले भने।

    “खोप विकास गर्न गाह्रो छैन। त्यो सुरक्षित र प्रभावकारी छ भन्ने कुरा प्रमाणित गर्न गाह्रो छ। र विकास गर्न मात्रै आतुर देश छन् भने चोरबाटो रोज्न सक्छन्।”

    अध्ययनको तथ्याङ्क प्रकाशन नगरीकनै र व्यापक परीक्षणबिना रुसले स्पुत्निक दर्ता गरेका कारण पश्चिमा मुलुकमा आलोचना भइरहेको छ।

    ह्वाइट हाउसका एक सदस्य तथा सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले रुसमा विकास भइरहेको खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुरामा आफ्नो “गम्भीर आशङ्का” रहेको बताएका छन्।

    तर मस्कोले भने त्यस्तो चिन्तालाई “ईर्ष्या” भन्दै बेवास्ता गरेको छ। रुस अनि चीनमा उक्त खोप सैन्य बलमा परीक्षण गरिने योजनाले नैतिक चिन्ता बढाएको छ किनकि सैन्य अधिकारीहरूले त्यसका लागि उचित सहमति दिनसक्ने अवस्था नहुन सक्छ।

    खोपको अभूतपूर्व रूपमा माग भइरहेका बेला केही सहज अनि तीव्र रूपमा विकास अपेक्षित छैन र? पूर्ण परीक्षण नगरीकनै खोप सार्वजनिक गर्दा सर्वसाधारणहरू बढी नै ढुक्क हुनसक्छन् र त्यसले कोरोनाभाइरस सङ्क्रमण झन् फैलाउन सक्छ।

    त्यस्तै कुनै नराम्रो असर देखिए त्यसले खोपविरोधी अभियानलाई बल पुर्‍याउन सक्छ। निर्वाचन हुने वर्ष भएका कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासन अत्यधिक दबावमा छ।

    यूकेमा आलोचना खेपिरहेको बोरिस जोनसन नेतृत्वको सरकारलाई पनि खोप विकासले बल दिने छ। “पश्चिमा राष्ट्रमा निश्चय पनि खोप राष्ट्रवाद छ। अमेरिका र यूकेमा पहिलो चरणमा उत्पादन भएका खोप आफ्नो नियन्त्रणमा लिने पहल भइरहेका छन्,” बोलीकीले भने।

    राष्ट्रवाद कोरोनाभाइरस अघि पनि बढिरहेको नै थियो। तर यो रोगले राष्ट्रवादी शक्तिलाई झन् बलियो बनाइदिएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ मा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गरेका थिए। “हामीले खोप राष्ट्रवाद रोक्नुपर्छ,” उनले भने।

    बीबीसी नेपालीबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij