प्रकाशित मिति : सोमवार, अशोज १२, २०७७
मेक्सिकाे। मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ। प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए।
मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ।
त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन्। अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ। ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ। सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ।
यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ। सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन। यस दुर्घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij