प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०७७
काठमाडौं। चीनका विकास गरिएको कोरोनाभाइरस भ्याक्सिन बीबीआइबीपी कोरभी सुरक्षित र एन्टिबडी उत्पादन गर्न सक्षम रहेको पाइएको छ । सार्स सीओभी २ भाइरसलाई पूर्ण रुपमा निष्क्रिय पार्न सक्षम हुने अपेक्षा गरिएको यो भाइरस सुरक्षित समेत रहेको पाइएको मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित रिपोर्टमा जनाइएको छ । यसअघि चीनमै गरिएको अर्को क्लिनिकल ट्रायलमा पनि यस्तै नतिजा आएको तियो तर त्यो भ्याक्सिन ६० वर्षभन्दा कम उमेरका व्यक्तिहरुमा मात्र परीक्षण गरिएको थियो ।
अहिले गरिएको परीक्षण भने १८ वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको हो र सबै सहभागीहरुमा एन्टिबडी विकास भएको पाइएको छ । अध्ययनमा ६० वर्षभन्दा माथि उमेर समूहका सहभागीहरुको शरीरमा एन्टिबडी विकास हुन भने केही बढी समय लागेको पाइएको छ । ६० वर्षभन्दा माथिका सहभागीको शरीरमा ४२ दिन लागेको पाइयो भने १८ देखि ५९ वर्षसम्मका सहभागीहरुको शरीरमा भने २८ दिनमै एन्टिबडी विकास भएको पाइयो ।
‘सफल कोभिड १९ भ्याक्सिनको मुख्य उद्देश्य भनेको वृद्ध उमेरका व्यक्तिहरुलाई सुरक्षा दिनु हो किनकि यो उमेर समूह भाइरस संक्रमणबाट गम्भीर बिरामी हुने जोखिम धेरै हुन्छ’ अध्ययनका लेखक बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लि. का जियाओमिङ याङले भने । यद्यपि कहिलेकाहीँ यो उमेर समूहमा भ्याक्सिनहरु कम प्रभावकारी हुन्छन् किनकि शरीरको प्रतिरोधी क्षमता उमेरअनुसार कम हुँदै जान्छ ।
‘यो यसकारण पनि उत्साहजनक छ किनकि बीबीआयबीपी कोरभीले ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुमा पनि एन्टिबडी विकास गरेको छ र हामीलाई विश्वास छ आगामी अध्ययनमा पनि यो प्रमाणित हुनेछ’ याङले भने । बीबीआइबीपी कोरभी भ्याक्सिन चीनमा एक बिरामीबाट लिएर आइसोलेट गरिएको भाइरसको नमूनामा आधारित छ । यो भाइरसको स्टक प्रयोगशालामा सेल लाइनको प्रयोग गरेर उत्पादन गरिएको थियो र बेटा प्रोपाइनोल्याक्टोन नामको रसायन प्रयोग गरी निष्क्रिय पारिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij