प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७
संयुक्त राज्य अमेरिकाले सिरियामा रहेको इरानसमर्थित मिलिसियाको अखडामा हवाई हमला गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनको अनुमतिपछि उक्त हमला गरिएको हो।
अघिल्लो साता अमेरिकी सेनाको इराकस्थित बेसमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप बिहीबारको हमला भएको बताइएको छ।
गत साताको आक्रमणविरूद्ध अमेरिकाको यो पहिलो जवाफी हमला भएपनि कम क्षति हुने र तनाव थप चुलिन नदिने गरी हमलाको स्थान छानिएको छ।
अमेरिकी हमलापछि कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन।
यसअघि फेब्रुअरी १५ मा इराकस्थित अमेरिकी बेसमा भएको रकेट आक्रमणमा एकजना गैरअमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने केही अमेरिकी नागरिक घाइते भएका थिए।
उक्त आक्रमणपछि सन् २०१५ को आणवीक सम्झौतामा फर्किन खोजिरहेका वासिङ्टन र तेहरानबीचको सम्बन्ध चिसिएको थियो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणवीक प्रशोधनमा सीमा लगाउन अन्तर्राष्ट्रिय समुदायले गरेको सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।
गत वर्ष इरानी सेनाका जनरल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन हमलामा मारिदिएपछि वासिङ्टन र तेहरान झन्डै युद्धको अवस्थामा पुगेका थिए। तर पछि इरानले इराकस्थित एउटा अमेरिकी बेसमा खासै क्षति नभएको आक्रमण गरेपछि यो विषय मत्थर हुँदै गएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij