प्रकाशित मिति : बुधबार, असार १६, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको आरोप लगाउनुभएको छ ।
विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट नडराउन विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ ।’
स्वतन्त्र न्यायालयको अगाडि तानाशाी प्रधानमन्त्रीको पनि केही नलाग्ने भएकाले न्यायाधीशहरू देश, राष्ट्र र संविधान बचाउन लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्वतन्त्र न्यायालयको अगाडि प्रधानमन्त्रीको केही लाग्दैन, कतिवटा प्रधानमन्त्रीको केही लागेन । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरु डराउनुहुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडी छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij