प्रकाशित मिति : शुक्रबार, साउन २२, २०७८
काठमाडौं। काँग्रेस नेतृत्वको गठबन्धन सरकारले स्थानीय तहलाई प्रदेशको अधिकार क्षेत्रमा ल्याउने नीति लिने सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थाापले आपत्ति प्रकट गरेका छन्। उनले ट्वीटरमार्फत सो विषयमा आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेका हुन्।
सरकारलाई सहयोग गर्न गठन गरिएको कार्यदलले शुक्रबार सरकारको न्यूनतम साझा कार्यक्रमको सुझाव प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। सो सुझावमा स्थानीय तहलाई प्रदेशको अधिकार क्षेत्रमा लिनका लागि आवश्यक कार्य गर्ने उल्लेख छ। सोही विषयमा राप्रपाका अध्यक्ष थापाले आपत्ति जनाएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ। राष्ट्रका लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीयतहलाई अझ बढी साधन श्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ। सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।’
थापाले प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने भन्दलै संघीयता खारेजीको वकालत गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij