आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ललितपुरमा कांग्रेसका युवा नेताहरुको भेलाः नेतृत्वले पुस्ता हस्तान्तरण गर्न नसकेकोप्रति आलोचना

  • प्रकाशित मिति : शनिबार, भदौ १२, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि नेताहरुले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रुपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरुले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे ।

    नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीको नेतृत्व पंक्तीको कार्यशैली ठिक नहुँदा युवाहरुलाई विचार प्रदान गर्न असक्षम रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे,‘सम्पूर्ण भातृ संगठनहरु मृत सरह राख्ने, नीति बनाउन नसक्ने, युवा परिचालन गरेर संगठन सुदृढ गर्न नसक्दा युवाहरुमा उर्जा हराउने खतरा बढेको छ’, उहाँले अगाडि भन्नुभयाे,‘नेतृत्वले सुझाव पनि ग्रहण नगर्ने र आलोचना पनि सहन नसकेका कारण पार्टीमा जागरण हराउँदै गएको छ । यस्तो बेला युवाहरु संगठित भएर बोल्नुपर्छ ।’

    कांग्रेस महासमिति सदस्य तथा नेता मथुराप्रसाद घिमिरेले नेतृत्व तहका नेताहरुमा हुकुमी शासन कायम रहँदा पुस्ता हस्तान्तरण नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे,‘प्रतिस्पर्धा गर्न डराउने र विधि विधान अनुसार नचलेका कारण समस्या भइरहेको छ ।’ लोकतन्त्रमा पारदर्शीता आवश्यक रहेको भन्दै उनले पारदर्शिता र प्रतिस्पर्धा हुँदा मात्र पूर्ण लोकतन्त्रको अभ्यास हुने धारणा राख्नुभयाे । कांग्रेस नेता भरतलाल ङयाछेले अवसर पाइसकेका नेताहरुले पद छाड्न नसक्नु र पुस्ता हस्तान्तरण गर्न नसक्नु पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयाे ।

    भेलामार्फत ‘विचार डबली’ अभियान थालेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईले निर्माणका लागि बैचारिक विद्रोह आवश्यक रहेको औंल्याउँदै पार्टीको नेतृत्वले युवालाई उचित प्रयोग गर्नुपर्ने बताउनुभयाे । पार्टीको महाधिवेशन तत्कालिन आवश्यक्ता रहेको भन्दै उनले अग्रजहरुले अवसर नदिए पनि युवाहरु प्रतिस्पर्धामा उत्रिनुपर्ने बताउनुभयाे ।

    नेविसंघका पूर्वकेन्द्रीय सदस्य सानुबाबु महर्जनले पार्टीमा रहेर काम गरेका युवाहरुलाई योगदानका आधारमा मूल्यांकन हुनुपर्ने भन्दै सिनियर र जुनियरका आधारमा विभेद गर्नु नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘कोही पनि कार्यकर्तालाई टिम र व्यक्तिको ट्याग लगाएर विभेद गर्ने परिपार्टी तुरुन्त अन्त्य गर्नुपर्छ ।’

    लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनका महासचिब रोशनराज गिरीले पार्टी भित्र पुस्तान्तरण आवश्यक रहेको औंल्याउँदै परिर्वतन चाहनेहरुले प्रवृत्ति पनि परिवर्तन गर्नुपर्ने बताउनुभयाे । लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनकै पूर्वमहासचिब विनोदप्रकाश पण्डितले पार्टीभित्र सबै पद प्राप्तीका लागि मात्र दौडिने तर वैचारिक क्षमता सुदृढ गर्न अघि नबढ्ने परिपाटीका कारण पार्टीलाई घाटा भइरहेको बताउनुभयाे ।

    नेविसंघ धादिङका पूर्व सभापति सेतेमान तामाङले संगठन कब्जा गर्ने परिपार्टीले कार्यकर्ताहरुको सरक्षण नभएको र पार्टी गतिहिन र योजनविहीन बन्दै गएको दुखेसो गर्नुभयाे । भेलामा राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा, कांग्रेस भक्तपुर प्रदेश ‘क’का सभापति उद्धव खड्का, विद्यार्थी नेता सुदर्शन शर्मा, ध्रुवलाल गैरे, गोपाल पौड्याललगायतले युवाहरुको सहभागिता बिना कांग्रेस सुदृढ हुन नसक्ने धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij