प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७८
काठमाडौं । दशैं सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा फलफूलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।
दशैंको समयमा खासगरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही वस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो ।
दशैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुको गुनासो थियो ।
तर, दशैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए ।
उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुँदै गएको कारण मूल्य घट्ने क्रम जारी रहेको बताए ।
गोलभेँडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य सोमबारबाटै घटिसकेको पनि उनले बताए ।
समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी वर्षा भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गरे ।
यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij