प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७८
पाँचथर — जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा ज्यान गुमाएका २७ मध्ये १७ जनाको सनाखत भएको छ । पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोबाट थप ९ जनाको शव निकालेर पहिचान गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।
बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम–४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक–२ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजोङ–४ का ६५ वर्षीय धनबहादुर लावती र फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्बा तामाङको हिजै पहिचान गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण मेची राजमार्ग, कोसी करिडोर र मध्य पहाडी लोकमार्गसहितका सडक अवरुद्ध छन् । ठाउँठाउँमा पहिरो र ढिस्को खसेका कारण अवरुद्ध सडक खुलाउन पहल थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij