प्रकाशित मिति : बुधबार, साउन १८, २०७९
काठमाडौं । अमेरिकी संसदको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गएपछि उत्पन्न भएको अमेरिका र चीनबीचको विवादमा चीनले नेपालको साथ खोजेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले आगामी दिनमा पनि ‘एक चीन सिद्धान्त’को समर्थन गरिरहने विश्वास व्यक्त गरेकी छिन्।
राजदूत यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेको बताउँदै यसको उच्च प्रशंसा समेत गरेकी छिन्। मंगलबार अमेरिकी सभामुख न्यान्सी पेलोसी पूर्वघोषित कार्यक्रमबिना ताइवान भ्रमणमा गएकी छिन्। यसले चीन र अमेरिकाबीच विवाद चुलिएको छ।
विश्वका २ ठूला शक्तिकेन्द्रहरू आमनेसामने भएका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले बुधबार एक विज्ञप्ति जारी गर्दै ताइवान मामिलामा नेपालको साथ र समर्थन खोजेकी हुन्।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन्। चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ।’
‘हामी विश्वास गर्छौं – नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडान बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ। नेपाल सरकार र जनताले विगतमा झैं आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्ने चिनियाँ राजदूतको अपेक्षा छ।
अमेरिकी सभामुख पेलोसिले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्तविपरीत रहेको चीनको दाबी छ। भ्रमणले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंघन गर्दै चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको राजदूत होउले उल्लेख गरेकी छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij