शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०८०



  • काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ ।

    राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ उपसचिव र २५ अधिकृतको पद रिक्त हुँदा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेका हुन् ।

    कोषमा ३५० जनाको दरबन्दी रहेकामा हाल ज्यालादारीसमेत १८२ मात्र कर्मचारी कार्यरत रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । स्वीकृत दरबन्दीअनुसारका कर्मचारी नभएपछि कोषका महाशाखा एवं शाखाहरू निमित्तका भरमा सञ्चालन भइरहेका छन् ।

    प्राविधिक जनशक्ति त कोषमा अहिले शून्यमै झरेको छ । विगतमा कोषका प्राविधिकले पशुपतिक्षेत्र भित्र बनाएका सडकमा प्रश्न उठेकाले पनि ज्यालादारीमा रहेका जनशक्तिको म्याद नथपिएको उहाँले समितिलाई जानकारी गराए।

    बैठकमा सांसदहरुले पशुपति क्षेत्रको सम्पत्ति व्यवस्थापनका लागि निमित्तको मात्र भर पर्न नहुनेमा जोड दिए । समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको उपस्थितिमा मन्त्रालयका अधिकारी एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकारी बोलाएर पशुपति क्षेत्रका विषयमा छलफल गर्न अर्को बैठक राखिने जानकारी गराइन् ।

    सांसद कुमार दसौँदीले हायात रिजेन्सी होटललाई १७ रोपनी जग्गा वार्षिक १६ मुरी धान भाडामा दिनु निकै सस्तो भएकाले पुनर्विचार गरिनुपर्नेमा जोड दिए। मारवाडी सेवा समितिलाई दिइएको पशुपति गौशालाको धर्मशालालगायत कोषले दिएका अन्य जग्गा पनि सस्तो भाडादर भएकाले समयानुकुल बनाउनुपर्नेमा उनले जोड दिए।

    सांसद सानोम ग्याल्जेन शेर्पाले माथिको दबाबमा पशुपतिमा काम रोकिने गरेकाले त्यसो गर्न नहुने बताए । सांसद रामचन्द्र राईले पशुपति क्षेत्रलाई व्यवस्थित गरी भारतबाट त्यहाँको जनसङ्ख्याको वार्षिक १० प्रतिशत मानिस नेपाल ल्याउन सके पनि धार्मिक पर्यटन प्रवर्दन हुनेमा जोड दिए । पशुपति क्षेत्रको गुरुयोजना पारित हुँदा निकायगत समन्वयको व्यवस्था गरिनुपर्ने उनको माग थियो ।

    सांसद इन्दु कडरियाले मारवाडी सेवा समितिले मासिक रु २२ लाखभन्दा बढी भाडा उठाएर कोषलाई वार्षिक रु ५१ हजारमात्र दिने दिँदै आएकामा आपत्ति जनाइन्। कोषमा महिला सहभागिता बढाउनाका साथै वातावरण संरक्षणका लागि विद्युतीय शवदाह गृहलाई प्रवर्दन गरिनुपर्नेमा उनले जोड दिइन् ।

    सांसद गोपीबहादुर सार्की आछामीले जलहरी राखेको विषयमा महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको उल्लेख गर्दै कोषअन्तर्गतका जग्गा किन कौडीको भाउमा भाडामा दिएको भनी प्रश्न गरे ।

    छिमेकी भारतमा एक अर्बभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको चर्चा गर्दै उनले तिनलाई पशुपतिनाथको दर्शन गराउने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए। पशुपति, जनकपुर, बराहक्षेत्र र लुम्बिनीलाई समेटेर धार्मिक पर्यटन प्रवर्र्दन गर्ने गरी काम गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

    सांसद जगतबहादुर पार्कीले पशुपति क्षेत्रमा देखिने थोरै फोहरले पनि विश्वभर नकारात्मक सन्देश जाने बताउँदै सफाइमा विशेष ध्यान दिन आग्रह गरे । कोषको वास्तविक सम्पत्ति कति हो यकिन गर्न पनि उनले माग गरे । वाग्मतीमा सफा पानी बगाएर पशुपति क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सके धेरै पर्यटक आएर राजश्व वृद्धि हुने सांसद पार्कीको भनाइ थियो ।

    ‘जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्’
    कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन समितिमा माग गरे। छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाउँदै उनले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताए।

    आफू कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताए। सुनमा अनियमितताको आरोप लागेकैले आफू फेरि सदस्यसचिव भएर आएको उनले सुनाए ।

    “सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो, त्यसबेला सिसीटिभी राखिएको थियो, त्यसको फुटेज सुरक्षित छ, बाहिर आएका सबै विषय सत्य छैनन्, सांसदहरुले पनि यस विषयमा बुझ्नुहोला”–सदस्यसचिव थापाले भने ।

    पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको छ । सुनको विषय नजोखीकन कसैलाई कारबाही नगर्न पनि उनले माग गरे ।

    कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले पशुपतिमा सुनकै जलधारा, शङ्ख, अघ्र्य आदि पनि सुनकै रहेको उल्लेख गरे । पशुपति क्षेत्रमा फूल पसल राखेर फोहर गर्ने पसलेलाई कारबाही गर्न खोज्दा सांसदको फोन आउने गरेको उनले समिति बैठकमा जानकारी दिए।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारीले द्वारिका होटलले चर्चेको पशुपति गुठीको नाममा रहेको दुई रोपनी जग्गाको भाडा वार्षिक रु छ हजार आउने गरेको जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij