शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०८०



  • gfuk~rdLsf] cj;/df gS;fnl:yt gfukf]v/Ldf gfusf] d"lt{df b'w r9fpFb} eQmhg . tl:a/ M k|bLk/fh jGt, /f;;

    काठमाडौं।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

    नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

    बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो। नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ।

    भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो।

    प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ।

    दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।

    श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थशंरहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।

    पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख गरिएको छ। लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ।

    नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन्। जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ। एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखि किसानसँग क्रुद्ध भइन्।

    रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।

    संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।

    मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

    गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो। गुरु आएको देखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसंग पनि धर्मशास्त्रमा उल्लेख छ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij