प्रकाशित मिति : बुधबार, मंसिर १२, २०८१
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी , वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij