भारतको बिहारमा ६० वर्षीय पुरुष र २३ वर्षीया युवतीको विवाह, सामाजिक सञ्जालमा भिडियो भाइरल
लखीसराय । भारतको बिहारस्थित लखीसरायमा ६० वर्षीय पिन्कु सिंह र २३ वर्षीया वर्षा रानीको विवाह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भाइरल भिडियोमा पिन्कु सिंह र वर्षा रानी विवाहका विभिन्न संस्कार गर्दै गरेको देखिन्छ। उनीहरूको विवाह अभयपुरस्थित पीरीबजारको रामपुरमा भएको बताइएको छ।
स्थानीय गाउँ प्रमुखका अनुसार दुवैले आफ्नो इच्छाअनुसार विवाह गरेका हुन्। उनका अनुसार यो उनीहरूको व्यक्तिगत विषय भएकाले यसमा हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
समाचारअनुसार वर्षा रानीको यसअघि मुंगेरको कल्याणपुरमा विवाह भएको थियो। पहिलो विवाहबाट उनको एक छोरीसमेत रहेको बताइएको छ। वर्षाका अनुसार ससुरालीमा भएको आगलागीमा उनी गम्भीर रूपमा जलेकी थिइन्। त्यसपछि उनका पहिलो श्रीमानले उनलाई साथ दिन अस्वीकार गरेको वर्षाको भनाइ छ।
पहिलो विवाहमा उत्पन्न भएका विभिन्न परिस्थितिका कारण आफूले पिन्कु सिंहसँग विवाह गर्ने निर्णय गरेको वर्षाले बताएकी छन्।
यता, CSW सुप्रिया कुमारीका अनुसार वर्षा रानीको उमेर २३ वर्ष रहेको बताइएको छ। घटनासँग सम्बन्धित भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।