बिनिता शर्मा,काठमाडौं। IGP डा. मनोज कुमार के.सी.ले वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदान-प्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग र अनुसन्धान तथा अभियोजन बिचको समन्वयलाई संस्थागत बनाउनुपर्ने बताउँदै सीमापार वित्तीय कारोबार र अपराध सञ्जालको हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै IGP के.सी.ले उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा IGP डा. केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग-३’ पुस्तकको विमोचन गर्नुभयो । विमोचित पुस्तक विगतको अनुसन्धानको अनुभव, चुनौती, सिकाई र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास रहेको उल्लेख गर्दै यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताको लागि सिकाईको स्रोत
बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा IGP डा.के.सी.ले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अपराध अनुसन्धान बिभागको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षमता विकास, जटिल र संवेदनशील अपराधको अनुसन्धानको मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढिकरण र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो ।
यसै अवसरमा आयोजित कार्यशाला गोष्ठी समयसापेक्ष र अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यशालाबाट वित्तीय
अपराध अनुसन्धानको विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण, प्रमाण संकलनदेखि अभियोजन र फैसलासम्मको प्रकृयामा सुधारका उपायहरू तथा सम्बन्धित निकाय बिचको समन्वयलाई थप प्रभावकारी बनाउन व्यावहारिक सुझाव प्राप्त हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।
IGP डा. के.सी.ले वर्तमान अवस्थामा अपराधको स्वरूप, अपराधीको कार्यशैली र अपराधको सञ्जाल तीव्र रूपमा परिवर्तन भइरहेको, प्रविधिको विकासले अपराध गर्ने तरिका परिवर्तन भइरहेको एवम् विशेष गरी बैंकिङ कसूर, वित्तीय ठगी, सहकारी तथा लगानी सम्बन्धी अनियमितता, अनलाईन मार्फत हुने आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय कारोबारको बढ्दो जटिल स्वरूपले अपराध अनुसन्धानमा नयाँ चुनौती सामना गर्नुपर्ने बताउनुभयो । वित्तीय अपराधको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक अनुसन्धान प्रणालीतर्फ रूपान्तरण गर्दै नवीनतम् प्रविधिको प्रयोग, डिजिटल फोरेन्सिक क्षमताको अभिवृद्धि, विशेषज्ञ जनशक्तिको विकास र आवश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउँदै कुनै पनि दबाब र प्रभावबाट मुक्त रहि कानुन बमोजिम उत्कृष्ट कार्यसम्पादन गर्न समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता दिनेश प्रसाद घिमिरे र न्पाल राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाई (मैनाली) ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता ज्ञान प्रसाद भुषालले नित्तीय अपराध अनुसन्धानमा अभियोजन तथा फैसलाका पक्षहरू सम्बन्धी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका SP मोहन कुमार थापाले वित्तीय अपराधको अवस्था, प्रकृति र प्रवृत्ति सम्बन्धी, साईबर ब्यूरोका SP दिपक राज अवस्थीले वित्तीय अपराध अनुसन्धानमा डिजिटल प्रमाण संकलन सम्बन्धी तथा केन्द्रीय
अनुसन्धान ब्यूरोका DSP दान बहादुर थापाले वित्तीय अपराधको अनुसन्धानमा सम्पत्तिको खोजी र चुनौतीहरू सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो,भने प्रस्तुतीकरणका विषयहरूमा सहभागीहरू बिच वृहत्त छलफल समेत भएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका DIGP ओम बहादुर रानाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा SSP मुकुन्द मरासिनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा AIGP हरू, DIGPहरू, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पदाधिकारीहरू, नेपाल धितोपत्र बोर्ड, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नेपाल बैंकर्स एसोसिएसन, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, वित्तीय जानकारी इकाई, नेपाल बीमा प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू,ने पाल प्रहरी प्रदेश कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
साथै IGP डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘अपराध अनुसन्धान विभागको विशिष्टिकरण तथा प्रविधिमैत्री अपराध अनुसन्धान’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा IGP डा. के.सी.ले अपराध अनुसन्धान विभागका पूर्व प्रमुखहरू तथा अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अधिकृतहरूसँग अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने लगायत समसामायिक विषयमा अन्तरक्रिया र छलफल समेत गर्नुभयो । सो अवसरमा अपराध अनुसन्धान विभागका SP गोबिन्द पुरीले अपराध अनुसन्धान विभागको विद्यमान् संगठनात्मक संरचना, अपराध अनुसन्धान विभागको विकासक्रम, विशिष्टिकृत अनुसन्धान इकाईहरू, अनुसन्धान गर्ने इकाईहरूको संख्यात्मक विवरण, अपराध दर्ता संख्याको प्रदेशगत विवरण, त्रिवर्षीय मुद्दा दर्ता तथ्याङ्क लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको,प्रहरी प्रधान कार्यालयका सह प्रबक्ता दिप समशेर जंग बहादुर राणाले जानकारी दिनुभयो ।