दाङ । दाङको घोराहीमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्/
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुर निवासी ४० वर्षीय टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकल जलेका कारण त्यसको नम्बर पहिचान हुन सकेको छैन।
दुर्घटनामा घाइते हुनेमा बंगलाचुली गाउँपालिका–४ का सुनील खत्री र रामबहादुर डाँगी रहेका छन्। उनीहरू दुवैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको एउटा मोटरसाइकलमा तीन जना सवार थिए। उक्त मोटरसाइकलका चालक बंगलाचुली गाउँपालिका–४ का मोहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।
फरार चालक डाँगीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।