प्रकाशित मिति : बुधबार, असार ४, २०७६
काठमाडौं । सरकारले ५ वर्ष अगाडि नै आरोहण खुला गरेको जुगल हिमालको सफल आरोहण भएको छ। यस वर्ष (पहिलो पटक) ७ जना नेपालीले जुगल हिमालको सफल आरोहण गरेका छन्। मंगलबार सिन्धु पर्यटन परिषदले ३ जना आरोहीहरु र ४ जना गाइडहरु गरी ७ जनाले सफल आरोहण गरेको बताएको छ।
‘प्रथम ग्याल्चेन पिक आरोहण तथा अध्ययन २०७६’ शीर्षकमा हिमाल आरोहणका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएशन अफ नेपाल (टान)को सहयोग तथा सिन्धु पर्यटन परिषद, सिन्धुपाल्चोकको आयोजनामा पहिलो पटक जुगल हिमाल आरोहण गरिएको आरोही (टिम लिडर) माया गुरुङले बताइन्।
पहिलो पटक जुगल हिमाल चढेको अनुभव सुनाउँदै गुरुङले भनिन्, ‘सगरमाथा पनि चढेकी छु तर जुगल हिमालमा चढ्दा स्वर्ग पुगे जस्तै अनुभूति भयो।’
राजधानीबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल (ग्याल्चेन पीक) पर्वतारोहणका लागि खुला गरेको ५ वर्ष बित्दा पनि यस अघि आरोहण गर्ने भनेर कुनै निकायले पनि अनुमति नलिएको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार यस अघि जुगल हिमालको आरोहण कसैले पनि गरेको थिएन।
६ हजार १ सय ५१ मिटर उचाईमा रहेको जुगल हिमालको गत चैत २६ गते पहिलो पटक माया गुरुङको नेतृत्वमा ४ जना गाइडहरु सहित ७ जनाले आरोहण गरेका थिए।
आरोहण गर्नेहरुमा गुरुङसहित मिलन तामाङ र शर्मिला थापाले आरोहण गरेका थिए। तीन आरोहीका साथमा (गाइडहरु) तुलसिं गुरुङ, नरबहादुर अस्थानी, आसबहादुर गुरुङ र समीर गुरुङ गरी ७ जनाले आरोहण गरेका थिए।
संघीय राजधानी काठमाडौँबाट हिँडेको १२औैँ दिनमा जुगल हिमालको आरोहण गरिएको आरोहण दलका सदस्यहरुले बताएका छन्।
काठमाडौँबाट १ सय ४५ किलोमिटर दूरीमा पर्ने जुगल हिमाल सरकारले सन् २०१४ मा आरोहण खुल्ला गरेपनि चैतअघिसम्म कसैले पनि पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिएनन्। आरोहण खुल्ला गरेको करिब ५ वर्षपछि पहिलो पटक माया गुरुङको टोलीले आरोहण गरिएको सिन्धु पर्यटन परिषद सिन्धुपाल्चोकले जनाएको छ।
सिन्धु पर्यटन परिषदका अनुसार सिन्धुपाल्चोकमा मात्र जुगल र लाङटाङ हिमश्रृंखलामा ६ हजार मिटरभन्दा माथिका करिब २६ ओटा हिमाल छन्। जुगल हिमश्रृंखलामा मात्रै ११ ओटा हिमालहरू रहेका छन्। ती हिमालहरूमध्ये केही हिमालको अझै आरोहण खुल्ला गरिएको छैन।

जुगल हिमाल आरोहण तथा अध्ययनका लागि ३ नं प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाले सिन्धु पर्यटन परिषद्लाई ४० लाख अनुदान सहयोग गरेको थियो भने अन्य विभिन्न निकायले गरी ५४ लाख सहयोग गरेको थियो। जसमा यसपटकका आरोही टोलीले ४८ लाख खर्च गरेको जनाएको छ ।
काठमाडौँबाट नजिकै रहेको जुगल हिमालको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै प्रदेश ३ का निमा लामाले भने, ‘नेपाल भ्रमण २०२०मा भ्रमणमा आउने पर्यटकलाई काठमाडौं केन्द्रित मात्र नबनाई नजिकका हिमालको प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सरकारले जोड दिनुपर्छ।’
जुगल हिमालसंगै यस क्षेत्रलाई पर्वतीय पर्यटनका लागि तालिम केन्द्रको रुपमा विकास गर्न सरकारको लक्ष्य अनुरुप पर्यटक भित्रिने उनको विश्वास छ। जुगल हिमालको पहिलो सफल आरोहण भइसकेपछि अब निरन्तरता दिन अभियान नै चलाउनुपर्ने उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij