प्रकाशित मिति : बुधबार, असार ४, २०७६
काठमाडौँ । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ । त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन्।
घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलङ्गवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए। जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ।
अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पुर्याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए।
यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो। टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij