प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६
कुरिनटार (चितवन), असार ६ । कुनैपनि विपद्का बेला उद्धार गर्नुपर्ने अवस्था आएमा सशस्त्र प्रहरीको गोताखोर टोलीलाई सम्झिने गरिन्छ ।
विपद् व्यवस्थापनमा सधैं तत्पर रहने सशस्त्र प्रहरीको गोताखोर टोली भने आधुनिक उपकरणको अभावको समस्यामा गुज्रिँदै आएको छ ।
गोताखोरहरुले नदीमा पौडी खेलेर होस् वा डोरीको सहायताले जोखिमपूर्णरुपमा उद्धार गर्दै गरेको दृश्य निकै नै मार्मिक लाग्छ ।
चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलअन्तर्गत् नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले १९ जना गोताखोरलाई बंगलादेशमा पठाएर तालिम दिलाएर विपद्का बेला परिचालन गर्दै आएको छ ।
वर्षात्को समयमा भएका कुनैपनि घटना होस् वा सडक दुर्घटनाका कारण नदीमा डुबेकालाई उद्धार गर्ने कामका लागि नै किन नहोस् । उनीहरु अग्रसर हुँदै आएका छन् ।
आधुनिक उपकरणको अभाव हुँदा गोताखोरहरुले जोखिमपूर्णरुपमा आफ्नो काम गर्दै आउनुपरेको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले बताए ।
गोताखोरहरुले पनि ‘टर्चलाइट’को भरमा उद्धारमा खटिनुपर्ने बाध्यता रहेको बताए ।
६ महिनाको तालिम अवधि भएपनि उनीहरुलाई दुई महिनाको ‘बेसिक कोर्स’मात्रै दिलाइएको छ ।
स्थीर पानीमा तालिम दिने गरिएकाले नेपालमा ‘करेन्ट वाटर’ हुने गरेका कारण ‘डाइभ’ गर्न भने गोताखोरहरुलाई कठिन हुने गरेको प्रधानले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij