सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैन

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • हेटौंडा । अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् ।

    छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् ।

    झट्ट हेर्दा ४०÷४५ वर्ष जस्ती देखिन्छिन् उनी । यो उमेरमै पाँच सन्तान पाइसकेकी मैयाँ फेरि पनि गर्भ बसेको पो छ कि भन्ने शङ्का मेट्न छिमेकी गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णु लुङ्गेलीसँग आफ्नो गाउँ गाहाबाट ५ घण्टा पैदल हिँडेर बागमती–२ को राईगाउँ स्वास्थ्य चौकी आएकी हुन् । परीक्षण पछि गर्भ नरहेको थाहा पाएर खुशी भएकी मैयाँलाई अब छैठौं सन्तान जन्माउन मन छैन । “जन्माएर के गर्नु ? खान पुग्दैन,” मैयाँले भनिन् । आफूसँग चार कठ्ठा मात्र जमीन रहेको र त्यो पनि भिरालो खोरिया भएकाले वर्षमा एक बाली मकै मात्र लाग्ने उनले बताइन् । “मकै पोलेर खाँदा ठिक्क हुन्छ, अलिअलि बचेको बढीमा दुई महिनासम्म ढिँडो र खोले खान पुग्छ, त्यसपछि भने गिठ्ठा, घुँगी, गङ्गटा, माछा जस्ता चिजबिजले गुजारा टार्नु पर्छ,” उनले भनिन् – “यसपालि त पानी नपरेर मकै छैन । के खाने थाहा छैन ।बूढा र्इंटा भट्टामा काम गर्न भनेर गा’छन् । काम गरेर कमाउन सकेर केही ल्याए भने खाउँला ।”

    तेह्र वर्षको उमेरमा संसरे पहरीसँग विवाह भएपछि छिमेकी दोभान गाउँबाट मैयाँ गाहा आइन् । एक कक्षा पनि नपढेकी मैयाँ र संसरेको जोडी बागमतीमा माछा मार्ने र त्यो माछा सुकाएर बेच्ने गथ्र्यो । जेठो छोरो उमेशको जन्म भएपछि भने मैयाँले माछा मार्न छाडिन् । अचेल त माछा पाउनै छोडेपछि संसरेले पनि माछा मार्ने काम छोडे । उमेश पछि तीन वर्षको अन्तरमा माइलो सन्तानको रुपमा छोरी कालीको जन्म भयो । त्यसको तीन वर्षमा मीना अनि, अर्को दुई वर्ष पछि राजेश र अन्तिममा पुड्के जन्मियो । मैयाँको सबैभन्दा कान्छो छोरो पुड्के अहिले ५ वर्षमा हिँडिरहेका छन् । उमेर अनुसार त अब उनको विद्यालय जाने बेला भयो तर, उनी विद्यालय जाँदैनन् र जाने कुरा पनि छैन । पुड्के मात्रै हैन मैयाँका पाँचै सन्तान विद्यालय जाँदैनन् । मैयाँलाई पनि लेख्न, पढ्न आउँदैन ।

    उनका पति संसरे पनि पढ्न जान्दैनन् । गाउँका कसैलाई पनि लेख्न र पढ्न आउँदैन भन्छिन् मैयाँ । अत्यन्त्यै खतरनाक भिर र वनको बाटो र गहिरो दह तरेर जानुपर्ने हुँदा जो कोही गाहा जान र त्यहाँबाट आउन पनि नसक्ने हुनाले गाहाका मानिसहरु पढ्न र लेख्नबाट वञ्चित रहेका स्वयंसेविका विष्णु लुङ्गेली बताउँछिन् । थोरै मात्र घरहरु भएकाले त्यहाँ विद्यालय पनि नभएको उनको भनाइ छ । लुङ्गेलीका अनुसार गाहामा पाँच सात घरहरु मात्र छन् । मानिसहरु सानै उमेरमा विवाह गर्छन् । बालबच्चाहरु पनि धेरै जन्माउँछन् । गाहामा बाल मृत्युदर पनि उच्च रहेको उनको अनुमान छ । मानिसहरु धामी झाँक्रीमा विश्वास गर्छन् । आफ्नो माइती पनि गाहा नजीक भएकाले एकपटक बाटोमा मैयाँसँग भेट भएको उनले बताइन् ।

    पाँच बच्चा छन् भनेपछि आफूले स्वास्थ्य चौकी आउन अनुरोध गरेको र परिवार नियोजनको सल्लाह दिएको बताउने लुङ्गेलीकै सहकर्मी सुन्तली ढुङ्गानाले स्वास्थ्य चौकी आएकी मैयाँलाई बन्ध्याकरण गर्न सुझाएकी थिइन् । परिवार नियोजनका साधनहरुबारेमा जानकारी पनि लिएर फर्किन् । स्वास्थ्यकर्मी ढुङ्गानाको परामर्श पछि मैयाँ स्थायी बन्ध्याकरण नगरे पनि तीन महिने सूई लगाउन सहमत भइन् । पछि बिरामी परेपछि सूईकै कारण बिरामी भएको भन्दै श्रीमान्ले सूई लगाउन स्वास्थ्य चौकी जान नदिएपछि मैयाँले सूई लगाउन छाडिन् । यसैक्रममा गर्भ बसेको शङ्का मेटाउन मैयाँ स्वास्थ्य चौकी आएकी हुन् । “उनलाई सुगर भएको र’छ, अहिले नियमित औषधि सेवनले जाती भा’छ,” लुङ्गेलीले भनिन् ।

    नेपालीमा राम्रोसँग कुराकानी गर्न नसक्ने मैयाँ छोराछोरीलाई भने पढाउन र टाठाबाठा बनाउन चाहन्छन् । “हाम्रो जिन्दगी त यस्तै भइगयो, छोराछोरीले दुःख नपाए हुन्थ्यो,” उनी भन्छिन् – “पढाइदिने मान्छे पाए पढ्न पठाउँथेँ । कसले पढाइदेला र ? पाँच बच्चा छ ।” मैयाँको समस्या सुनेपछि गाउँपालिका अध्यक्ष सर्केश घलान बच्चाले पढ्न पाउने आश्वासन दिए । “के गरेर हुन्छ हामी उनीहरुलाई पढ्ने वातावरण मिलाउछौं,” घलानले भने । कतिपय अवस्थामा बालबच्चाहरु छात्राबासमा बसेर पढ्न गाह्रो मान्ने र भाग्ने गरेको उनको भनाइ छ । गाहा र आसपासको समस्या समाधानका लागि उपायको खोजी गरिरहेको घलानले बताए ।

    घलानका अनुसार पूर्वी बागमतीको भिरमा स–सानो बस्ती बनाएर अल्पसङ्ख्यक समुदाय बस्ने गरेको र त्यहाँ ठूलो समस्या रहेको छ । उनले भने – “त्यहाँ जो कोही जान सक्दैन । म पनि जान सकेको छैन । वडाध्यक्ष पनि पुग्नुभा’छैन । अब चाँडै नै पुग्ने योजना छ । गाहा र आसपासको भौगोलिक विकटतासँगै त्यहाँ प्रचलित किंवदन्तिहरु र थुप्रै अलौकिक र अन्धविश्वासपूर्ण भनाइहरुसमेत रहेकाले हत्तपत्त त्यहाँ कोही नजाने घलान बताउँछन् । स्थानीय धामी झाँक्रीहरु पनि त्यस क्षेत्रमा वन देवता, वनझाँक्री, प्रेतात्माहरु रहेको दाबी गर्छन् ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij