प्रकाशित मिति : बुधबार, असार ११, २०७६
सल्यान। विष्फोट गराएको विषयमा अनुसन्धानको क्रममा प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ । १६ वर्षका यी बालकले त्यहाँ सिलिण्डर विष्फोट गराएको आशंका प्रहरीले गरेको छ । विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको अघिल्लो दिन साँझ यहाँ सिलिण्डर विष्फोट भएको थियो ।
असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका–६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो । त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका–६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान गिरफ्तार गरेको हो । उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
अहिलेलाई सोधपुछका लागि गिरफ्तार गरेको र घटनामा संलग्नता रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएमा कानुन बमोजिम गर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले गिरफ्तार गरेपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ । उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको परिवारले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij