प्रकाशित मिति : आइतवार, असार २२, २०७६
काठमाडौं। नेपालमा रहेको तिब्बती शरणार्थीले शनिबार तिब्बती धर्म गुरु दलाई लामाको ८४ औं जन्म दिन मनाउन पाएनन् । नेपाल सरकारले चिनियाँ दबाबमा लामाको जन्म दिन मनाउने अनुमति नदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।
एएफीका अनुसार चिनियाँ दबाबमा कम्युनिष्ट सरकारले सुरक्षाको कारण देखाउँदै लामाको जन्म दिन मनाउन अनुमति नदिएको हो ।
एएफपीसँग कुरा गर्दै काठमाडौं जिल्ला प्रशासक कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुरक्षाको कारण जन्द दिन मनाउन अनुमति नदिएको जानकारी दिएका छन् ।
चीनको संवेदनशील विषय रहँदै आएको तिब्बतका विषयमा चीनले नेपाललाई यही आँखाबाट हेर्ने गरेको छ । नेपालले पटक पटक एक चीन नीतिमा आफ्नो प्रतिवद्धता जनाउँदै आएको छ ।
यही परिपेक्क्षमा सरकारले दलाई लामाको जन्म दिन मनाउने अनुमति नदिएको एएफपीले जनाएको छ । १९५९ मा तिब्बतमा चिनियाँ शासन शुरु भएपछि दलाई लामासमेत कैयौं तिब्बतीहरु तिब्बतबाट भागेका थिए । लामा भारतको धर्मशालामा शरणार्थीका रुपमा बस्दै आएका छन् । नेपालमा पनि हजारौं तिब्बती शरणार्थी रहेका छन् । लामाको ८४ औं जन्म दिन धुमधाका साथ नेपालमा पनि मनाउने तयारी गरे पनि प्रशासनले अनुमति नदिँदा नमनाइएको जन्म दिन आयोजक समितिका एक सदस्यले बताएको एएफपीले जनाएको छ ।
एएफपीले यो प्रसंगलाई हालै एक अमेरिकी नागरिकलाई तिब्बती भनेर नेपाल प्रवेश नदिइएको विषय र सरकारी समाचार एजेन्सी राससका तीनजना पत्रकारमाथि भएको अनुसन्धानलाई पनि जोडेको छ । लामा विरामी भएको समाचार राससले प्रकाशित गरेको थियो । सो विषयमा राससका अन्तर्राष्ट्रिय ब्यूरोका पत्रकारहरुसँग स्पष्टीकरण मागिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij