प्रकाशित मिति : सोमवार, असार २३, २०७६
काठमाडौं । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै नेविसंघले आज सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ।
बिरोधकै क्रममा राजधानीका ग्रामिण र एनआर क्याम्पस अगाडि पनि नेविसंघले विरोध प्रदर्शन गरेको छ। तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
विरोध प्रदर्शनका क्रममा नेविसंघका नि वर्तमान केन्द्रीय सदस्य सुशील भट्टले भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने चेतावनी दिए। उनले कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाउपर्नेमा जोड दिए ।
सो क्रमममा भट्टसहित विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, ठाकुर नेपाल, स्वेच्छा उप्रेती, लक्ष्मी सिलवाल, जीवन रानालगायतले सम्बोधन गरेका थिए । आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए।
जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो। यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने नेविसंघले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij