प्रकाशित मिति : बुधबार, असार २५, २०७६
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ।
गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए।
‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो’, प्रहरी निरीक्षक भट्टले भने, ‘त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो।’
प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ।
‘शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ’, भट्टले भने, ‘पीडित पक्षको जाहेरीका आधारमा कारबाही अघि बढ्छ।’
प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ।
मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन्।
कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij