सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै

  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६



  • बर्दिवास। झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन्। केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन्।

    केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहित रु तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ। बैंकको सामाजिक कोषअन्तर्गत यी उपकरण उपलब्ध गराइएको बैंकका प्रदेश–२ का मुख्य प्रबन्धक उज्ज्वल घिमिरेले जानकारी दिए।

    यी उपकरणको उपलब्धताले गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार अब सहज हुने भएको छ। यी उपकरणकै अभावमा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए।

    यसअघि गत वर्ष असारमै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएको थियो। सौर्य ऊर्जाले प्रकाश र अत्यावश्यक औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ।

    त्यतिखेरै सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४ दशमलव ४ केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री पनि जडान गरिएका थिए। केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभीए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताए।

    चट्याङप्रतिरोधी प्रविधिजडित सौर्य ऊर्जा सञ्चय गर्न आठ अत्याधुनिक प्यानल जडान गरिएका छन्। बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुग्दै आएको केन्द्रले जनाएको छ।

    अहिले लक्ष्मी बैंकले अत्यावश्यक उपचार उपकरण सहयोग गरेपछि साधन थपिँदै गएर उपचार प्रभावकारी र सहज बनेको अध्यक्ष देवकोटाको भनाइ छ। सौर्य ऊर्जा प्रयोगमा आएपछि औषधि भण्डारण गरिने फ्रिज, पङ्खा र प्रकाशको व्यवस्थापनका लागि निकै सहज भएको र विद्युत्भार कटौती भएको केन्द्रले जनाएको छ।

    यसअघि उपचार केन्द्रमा नियमित प्रकाश र भेन्टिलेटर सुविधा एवं थप उपचार उपकरणसहितको सघन उपचारकक्षको आवश्यकता औँल्याइँदै आइएको थियो। अब अक्सिजन दिनपर्ने बिरामीले यही उपचार पाउने भएका छन्। आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहितका उपकरणले उपचार प्रभावकारी हुने केन्द्रले जनाएको छ। अब थप संशाधनका लागि सरकारको ध्यानाकर्षण गराइएको केन्द्रका अध्यक्ष देवकोटाले बताए।

    विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करीब तीन हजारले उपचार सेवा लिइसकेका छन्। जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन्। यस भेगमा अत्यन्त विषालु गोमन र करेत सर्पको बिगबिगी रहँदै आएको छ। खासगरी चर्को गर्मीपछि पानी पर्दा सर्प बस्ने दुलामा पानी भरिनासाथ बर्दिवास क्षेत्रमा सर्पको बिगबिगी देखिने गरेको छ।

    सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने छ दक्ष प्राविधिक उपलब्ध गराउँदै आएको छ। केन्द्रमा हालसम्म ३१ सर्पदंशका बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केका अध्यक्ष देवकोटाले जानकारी दिए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij