प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६
काठमाडौं। मनुसनी वर्षा शुरु भएसँगै नेपाललगायत दक्षिण एसियाली मुलुकमा बाढी र पहिरोले सयौं मानिसहरुको ज्यान लिएको छ लाखौं विस्थापित भएका छन् ।
यही बिचमा बिहीबार राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आपतकालीन वाल कोष (यूनिसेफ)ले एक हृदयविदारक तस्वीर सार्वजनिक गरेको छ । तस्वीर नेपालको भने होइन । यो तस्वीर बंगलादेशको हो ।
तस्वीरमा देखिएका बालक खोलामा प्लास्टिकका बोतल उठाउन गएका थिए । यूनिसेफका अनुसार प्लास्टिकका बोतल बटुलेर परिवार खर्चमा सहयोग पुर्याउँदै आएका उनी बाढीको चपेटामा परेका हुन् । यद्यपी युनिसेफले उनको अवस्था हाल के छ भन्ने विषयमा भने केही खुलाएको छैन ।
तर, दक्षिण एसियाका तीन मुलुक, नेपाल, बंगलादेश र भारतमा ठूलो संख्यामा बालबालिका बाढी र पहिरोको जोखिम रहेको जनाएको छ ।
यूनिसेफकी दक्षिण एसिया निर्देशक जेन गुहाँले दक्षण एसियामा हाल १२ मिलियन बालबालिका बाढी पहिरोको चपेटामा परेको बिहीबार बताएकी छन् ।
नेपालमा हाल ६८ हजार जनसंख्या विस्थापित भएको र त्यस मध्ये २८ हजार बालबालिका रहेको यूनिसेफले जनाएको छ । यस्तै भारतमा १० मिलियन मानिस प्रभावित भएकोमा ४.३ मिलियन बालबालिका रहेको जनाएको छ । यस्तै बंगलादेशमा ७० हजार ५ सय बालबालिका प्रभावित भएको जनाएको छ ।
यूनिसेफले सरकारसँग मिलेर बाढि प्रभावित बालबालिकाहरुलाई सहयोग गरिरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij