प्रकाशित मिति : सोमवार, साउन १३, २०७६
हेटाैंडा। मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ। स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन्। उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिइन्।
उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन्। “लामो समयदेखि साहित्य क्षेत्रमा लागेकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भनिन्।
उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए। उनको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij