सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पशुपतिनाथलगायत शिव मन्दिरमा बोलबम यात्रीको लर्को

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • काठमाडौं। साउन महीनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पवित्र नदी, ताल, तलाउ एवं पोखरीबाट शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ।

    पशुपतिनाथमा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट जल ल्याई चढाउने भक्तजनको लर्को छ। आइतबार राति नै सुन्दरीजल गई बसेका बोलबम यात्री बिहान सुन्दरीमाई मन्दिरमुनिको नदीमा स्नान गरी जल सङ्कल्प गरेपछि काँवरमा राखेर त्यहाबाट ल्याएको जल पशुपतिनाथमा चढाउन लाम लागेका छन्।

    बोलबम यात्रीको सङ्ख्या बढेपछि भुवनेश्वरी मन्दिरतिरबाट छुट्टै प्रवेश गर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए। पशुपति क्षेत्रमा पहेँलो कपडा लगाएका बोलबम यात्रीको आज बिहानैदेखि विशेष भीड छ। पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्मको करीब ११ किमी यात्रा गरिरहेका छन्।

    यसरी बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन्। भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूध, बेलपत्रलगायत अर्पण गर्ने परम्परा छ। वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ। यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नभई सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता छ।

    साउन महीनामा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट शुद्ध जल लगी पशुपतिनाथमा चढाएपछि मनोकामना पूरा हुने भएकाले भक्तजन यहाँ आउने गरेको बताउँछन्। सिराहा स्थायी घर भई हाल कुलेश्वरमा बस्दै आएका श्यामसुन्दर यादव बोलबम यात्रा गरी पशुपतिनाथमा जल चढाएपछि सन्तान प्राप्ति भएकाले प्रत्येक वर्ष यात्रामा आउने गरेको सुनाउछन्।

    पशुपतिनाथलाई १२ ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारतीय तीर्थयात्रीसमेत सुन्दरीजल–पशुपति बोलबम यात्रामा आउने गरेका छन्। पूर्वाधारको विकास गरी प्रत्येक वर्ष साउन महीनामा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोलबम यात्रालाई व्यवस्थित गर्नसके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन्।

    गोकर्णेश्वर नगरपालिकाले सुन्दरीजलमा बोलबम धाम बनाउन लागेको नगरप्रमुख सन्तोष चालिसेले बताए। सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर र पशुपतिनाथलाई जोडेर धार्मिक पर्यटकको आवागमनलाई वृद्धि गर्ने कामलाई नगरपालिकाले प्राथमिकता दिने उनको भनाइ छ।

    पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने दर्शनार्थीकोसमेत बिहानैदेखि भीड लागेको छ। साउनको दोस्रो सोमबार पनि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको कोषले जनाएको छ।

    अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।

    पशुपतिनाथको पूर्व ढोका भने जल ल्याउन मात्र उपयोग गरी भक्तजन प्रवेश गर्न नदिइएको सदस्य सचिव डा ढकालले बताए। साउनको सोमबार बढी भक्तजन पशुपतिनाथ मन्दिर आउने भएकाले अतिरिक्त जुत्ता चप्पल कक्षकोसमेत व्यवस्था गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले बताए।

    साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ।

    रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ। भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ। गहनालगायत बहुमूल्य चीजबीज मन्दिरमा लगाएर नआउन कोषले भक्तजनमा आह्वान गरेको छ।

    विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ। घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन्।

    यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ६, १३, २० र २७ गते गरी चार सोमबार परेको छ। पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता छ। विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन्।

    यसैगरी उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनी चिनिने शिवालय, नागेश्वर, डोलेश्वर, आशापुरेश्वर, कुम्भेश्वरलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ। उपत्यका बाहिरका शिव मन्दिरमा पनि भक्तजनको भीड छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij