प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
मध्य इटलीको पर्वतीय इलाकामा एक होटल हिमस्खलनमा परेको छ । राहतकर्मीले तीनजनाको शव निकालेको छ भने अन्य हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ ।
अब्रुज्जो इलाकामा रिगोपियानो होटल एक प्रकारको खण्डहरमा परिवर्तन भएको छ जहाँ भारी मात्रामा हिमपातका कारण राहतको काम प्रभावित भइरहेको छ ।
राहतकर्मीका अनुसार उनीहरुले भग्नावशेषबाट कुनै पनि आवाज सुनिरहेका छैनन् र कुकुरले पनि कसैलाई खोज्न सकिरहेको छैन ।
मध्य इटालीमा बुधबार ५ म्याग्निच्युडका चारवटा भूकम्प आएका थिए । भूकम्पको झड्का राती पनि महसुस गरिएको थियो ।
भूकम्प र भारी हिमपातका कारण बिजुलीको आपूर्ती बन्द भएको छ भने ग्रामिण इलाका अँध्यारोमा डुबेको छ ।
यूरोपेली संघले मद्दतको हात बढाएको छ ।
हिमस्खलनका बेला होटलमा २० आगन्तुक र ७ कर्मचारी रहेको बताइएको छ । यीमध्ये बच्चाहरु पनि संलग्न भएको बताइएको छ ।
तर, राहत र सुरक्षाकर्मीका अनुसार होटलमा ३५ मानिसको उपस्थिती थियो ।
केही खबरका अनुसार हिमस्खलनका कारण होटल आफ्नो जगभन्दा १० मिटर तल खस्किएको छ ।
होटलको भित्री भाग बरफ र भग्नावशेषले भरिएका छन् ।
इटालीको मिडिया अनुसार बरफबाट तीनजनाको शव निकालिएको छ जबकी चौथो शव पत्ता लागेपनि त्यसलाई तत्काल निकाल्न समस्या भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij