प्रकाशित मिति : सोमवार, साउन २३, २०७९
ललितपुर । ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं। २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासीसहितको बसेको बैठकले आजबाट काम गर्ने लिखित सहमति भएको हो ।
स्थानीयले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने पूर्वघोषित कार्यक्रमअनुसार आइतबार बाटो बन्द गरी विरोध जनाएलगत्तै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सरोकारवाला निकायलाई बैठकमा बोलाउनुभएको थियो ।प्रजिअ उपाध्यायले नेपाल प्रहरी, सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझा, वडाअध्यक्षद्वय र स्थानीयवासीलगायतको बैठकमा आज सोमबारबाट काम शुरू गर्ने गरी लिखित सहमति भएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।
सो बाटोको विषयमा अघिल्लो आर्थिक वर्षमा पनि ५ पटक वार्ता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘निर्माण कम्पनीबीचको आन्तरिक समस्याका कारण त्यसबेला बाटो निर्माण हुन सकेको थिएन । अब दशैंअघि कालोपत्रे हुनेगरी सबै काम सम्पन्न गर्ने सहमति भएको छ ।’ सबै सरोकारवालाको बीचमा भएको लिखित सहमति कार्यान्वयन नभए कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै प्रजिअ उपाध्यापले भन्नुभयो– ‘आजबाट शुरू गरी दशैंअघि काम सम्पन्न गर्नेगरी भएको सहमति कार्यान्वयन गर्नेपर्छ । कम्पनीले खाल्डाखुल्डी पुर्ने र पेटी निर्माण शुरू गर्ने जनाएको छ ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij