प्रकाशित मिति : शनिबार, भदौ ११, २०७९
त्यस दिन झमक्क साँझ परिसकेको थियो। घरधन्दा सकेर आमा चुलोमा भात बसाउँदै हुनुहुन्थ्यो। बुवा थलामा वस्तुभाउसँग। दिनभरिका दौडधुप साँझ पर्दै गएपछि चकमन्न हुँदै थियो। लगभग तीन दशकअघिको त्यो स्मृति आज एउटा धमिलो सम्झना मात्र बाँकी छ।
२०५२ सालको त्यो साँझ मोबाइल, इन्टरनेटले ओभरटेक गर्नुअघिको एउटा युग थियो। सहरमा सिनेमा हलबाहेक गाउँमा सादा टिभी फाट्टफुट्ट हुन्थे। मनोरञ्जनका साधन रेडियो नेपाल र फिल्मी क्यासेटबाहेक धरान र इटहरीका सिनेमा हल। अनि स्कुलबाट घर फर्किएपछि गाउँमा प्लास्टिकको पोको बनाएर खेलिने फुटबल।
नयाँ नेपाली चलचित्र रिलिजकै दिन धरानको गणेश टाकिज वा त्यहीँको शिव सिनेमामा लाग्थे। इटहरीको कृष्ण टाकिजमा भने हिन्दी चलचित्र धेरै लाग्थ्यो।
धरान र ईटहरीको बीचमा तरहराबाट बस चढे आधा घन्टामै फिल्म हल पुगिन्थ्यो। त्यति बेला इटहरीमा मिथुन चक्रवर्तीका फिल्म हेर्न गोजीमा ३ रूपैयाँ भए पुग्ने। तरहराबाट इटहरी आउने जाने भाडा जम्मा ५० पैसा। दुई रूपैयाँमा सेकेन्ड क्लासको टिकट, जसलाई हामी गान्धी भन्थ्यौं। अनि ५० पैसामा बरफ।
गोजी रित्तो हुँदा एक जना जिग्री साथी थियो, उसले दसैंमा तिर्ने शर्तमा फिल्म हेराउँथ्यो, हाफ-टाइममा बरफसहितको प्याकेज।
बिहान १० बजे घरबाट भात खाएर स्कुल हिँडेको मान्छे स्कुल नगएर कति बेला इटहरी जाने बस चढ्ने हो, पत्तै हुन्थेन। त्यो बेला नयाँ फिल्म लाग्नेबित्तिकै रिक्सामा पोस्टर राखेर माइकिङ गर्दै फिल्मको प्रचार हुन्थ्यो। फाइट भएको फिल्मको जमाना थियो। हामी मिथुन, सन्नी देवल, सुनिल शेट्टी, अक्षय कुमारका फिल्म नछुटाई हेर्थ्यौं। नेपाली फिल्म फाट्टफुट्ट मात्र लाग्थे, अलिअलि हेरिन्थ्यो। तर राजेश हमालको फिल्म चाहिँ छाडिएन।
बिहान छोरो स्कुल जान लाग्यो भनेर आमाले हतारहतार भात पकाउनुहुन्थ्यो। भात खाएर चिटिक्क भयो, तरहरा पुगेपछि त्यो जिग्री साथीले इटहरी, धरानमा चलेको फिल्मको हल्ला चलाइदिन्थ्यो। अनि किताब किराना पसलतिर राखेर सिमेमा हल छड्के हानिन्थ्यो। हप्तामा दुई दिन स्कुल ‘बंक’।
सन् ९० का दशकका हिन्दी फिल्म विशेषगरी कुनै पनि छुटेनन्। गोजीमा पैसै नहुँदा स्कुलमा ३ रूपैयाँ मागेको बहाना बनाएर पनि बुवालाई ठगेर पैसाको जोहो गरियो।
मनोरञ्जनका साधन फिल्म हल पुग्न के मात्र गरिएन।
पढाइ ठीकठाकै थियो। कक्षा ८ मा तरहराको जनसहयोगमा भर्ना भएको थिएँ। त्यो बेलाको सामुदायिक स्कुलको पढाइ आजकलका निजीभन्दा उम्दा। कक्षामा पसेपछि ध्यान दिएरै पढियो, गृहकार्य हुँदैन थियो। स्कुलमा नपढेकै भए पनि घरमा राती ११ बजेसम्म टुकी बालेर रेडियो नेपाल सुन्दै खुब पढिन्थ्यो। बिहान ४ बजे उठेर नपढेको दिन हुन्न थियो। तर फिल्मको चाहिँ अम्मली।
फिल्मका किस्सा थाहा पाउन तरहराका स्टेसनरी, धरान वा विराटनगरसम्म पुगेर त्यो बेलाका म्यागजिन मायापुरी, स्टारडस्ट जस्ता उम्दा खुराक चाटिचुटी पढिन्थ्यो। रेडियोमा विविध भारती लगाएर नयाँ फिल्म आउने खबर राखिन्थ्यो। घरका भित्तामा सुनिल शेट्टीले बन्दुक बोकेका ७ रूपैयाँ पर्ने तस्बिर मनग्गे टाँसिन्थे। कसैले ४० रूपैयाँ पर्ने गिती क्यासेट किनेको रहेछ भने उसैको घरमा गएर धित मरून्जेल ती गीत ‘रिवाइन्ड; गरीगरी सुनिन्थ्यो।
बुवाआमाका संघर्ष एकातिर थियो, जसको हामीलाई पत्तो थिएन। पढेर भोलि यस्तो होऊँला भन्ने कुनै सपना थिएन। दसैंमा नयाँ लुगा हाल्दा स्कुलकै ड्रेसले पनि मगमग बासना आउँथ्यो। त्यो बेला इन्टरनेट र प्रविधिले हामीलाई बाँधेको थिएन, हामी गाउँमै रमाएका थियौं।
आज अनेक ग्याजेटमा जति बेला पनि फिल्म हेर्न पाइन्छ। तर त्यो बेला इटहरी, धरानमा हेरिएका फिल्मको कहानी साथीभाइलाई साँझ अबेरसम्म ‘टुङ्टुङ् ढिस्’ गर्दै ‘फुल भोल्युम’ मा सुनाउँदा क्या आनन्द आउँथ्यो। हिरोका स्टारडमले हामीलाई यस्तो तान्थ्यो कि ‘खलनायक’ र ‘साजन’ को सञ्जय दत्तजस्तो वा उनको लामो कपालको हामी असाध्यै फ्यान थियौं। हुन त राजेश हमालले ‘भाउजू’ चलचित्रमा लगाएको दुई रङको भित्री गन्जी वा ‘चट्याङ’ मा हमालले लगाएको टल्कने मालाको फेसनै चलेको थियो।
फिल्मी हिरोझैं हुने हामीलाई रहर लाग्थ्यो। उनीहरूका लुगा, शैली हामीलाई प्यारो लाग्ने। फिल्मले समाजलाई यसरी बाँधेको थियो कि, सन् ९० का दशकको हिन्दी गीतका मेलोडी अनि कलाकारको स्टारडमको हामी प्रशंसक नै थियौं।
फिल्मी दुनियाँको त्यो माहौलले हामी फिल्मसँगै बाँचेका थियौं। फिल्म हेर्न नपाए खल्लो हुने। तर फिल्म हेर्न धरान, इटहरी धाउनुपर्ने त्यो बाध्यता अनि गोजीमा पैसा नहुने, कम्ता दुःख थिएन। बुवाआमालाई छक्याउँदै, ढाँट्दै कुनै पनि फिल्म छुटाइएन। तर फिल्मको किरो हुँदै गएपछि फिल्मको अम्मलले पढाइमा भने सुकेनास लाग्न थालिसकेको रहेछ।
त्यो साँझ जति बेला बुवा बस्तुभाउको धन्दा सकेर भान्साकोठामा छिर्नुभयो, म त्यतै पिर्कामा बसिरहेको थिएँ। बुवाले एक्कासि ‘तँ आज कहाँ गईस्?’ भन्दै जिन्दगीको पहिलो र अन्तिम झापड तोरीको फूल देख्ने गरी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij