आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महाकालीमा बालुवा छानेर जीविका चलाउँछन् ‘सोनाह जाति’

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९



  • महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।

    भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ ।

    भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।

    “बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उनले भने, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।”

    आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताइन् ।

    “चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले भनिन्, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।”

    चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उनको गुनासो छ ।

    त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उनको भनाइ छ ।

    “हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उनले भने, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताए ।

    अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उनले भने, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”

    ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त छन् । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भनिन्, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”

    दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताइन् । “छोरो काम गर्न कतार गएको छ”, उनले भनिन्, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उनले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताइन् ।

    “केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भनिन्, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”

    उनले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गरिन्। “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उनले भनिन् ।

    बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।

    यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।

    सोनाह जाति पुस्तौँदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।

    “बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भने, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”

    यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।

    यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।

    भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताए ।

    “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भने, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij