शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २७, २०८०



  • नवलपुर। तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ।

    यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ।

    जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो। विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो।

    सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ।

    विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ।

    नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८ दशमलव आठ, १४ गते ३८, १५ गते ३८ दशमलव आठ, २४ गते ३९ दशमलव आठ, २५ गते ४१ दशमलव आठ, २७ गते ४२ दशमलव आठ, २८ र २९ गते ४१ दशमलव आठ, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो।

    जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम भएको विभागले जनाएको छ।

    जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो। जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ।

    जेठ २० गते ४३, २१ गते ४२ दशमलव आठ, २२ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जेठ २२ गते नवलपुरमा त्यसबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो। त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो।

    जेठ २३ मा तापक्रम घटेर ४२ दशमलव आठ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ। जेठ २४ र २५ गते यहाँको तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस पुगेको थियो।

    नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो । विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ।

    नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ। अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली-१७ का कृषक देवनारायण महतोले बताए। गर्मी अधिक भएपछि यस क्षेत्रमा दिउँसोको समयमा मानिस घरभित्रै बस्ने गरेका र घरायसी कामकाज बिहानबेलुकी गरेर गर्दै आएको महतोले बताए।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij