शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

त्रिपालको सहारामा जाजरकोटका भूकम्प पीडित, सदरमुकाम बाहिर राहत सामग्री पुग्न सकेन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २१, २०८०



  • जाजरकोट। जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।

    पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको हो।

    सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ। पटक–पटक आउने पराकम्पका कारण घरभित्र बस्ने अवस्था छैन। पीडितले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताए।

    सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ। उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा सहयोग गर्दैछ।

    मानसिकरूपमा तनाबमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ। सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ। पटक–पटक पराकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन।

    स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ। भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गरे।

    सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन। राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ।

    बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सर्वसाधारण खुला आकाशमुनि बसिरहेका छन्। उनीहरूलाई अब चिसोबाट जोगाउनु मुख्य चुनौती भएको उनले बताए।

    परकम्पबाट १३ जना घाइते

    सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन्। सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

    भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए

    जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका रहेका छन्। प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन्।

    जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए।

    यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए। भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका छन्। हेमन्त केसी/रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij