प्रकाशित मिति : मङ्लबार, माघ १६, २०८०
चितवन। तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ। बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ।
पूर्व-पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी संघले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ। यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ।
आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन्। बजारमा आउने तेल मिसावट हुनसक्ने आशंकाले यही पेलेको तेल प्रयोग गर्नेको संख्या बढी हुने गरेको छ।
जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ। संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार यहाँ मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको छ। गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको थियो। यस वर्ष भने यहींको तोरीले धानेको उनले बताए।
गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उनको भनाइ छ। वार्षिक एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ। संघका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौं जाने गर्दछ। यस्तै पोखरा, हेटौंडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उनले जानकारी दिए।
उनले भने, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन्।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरु, बाटो यो परेर अन्यत्र जानेहरु, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उनले बताए।
संघले तेल प्रतिलिटर तीन सय ५० मा बिक्री गर्दै आएको छ। सहकारीहरुका लागि प्रतिलिटर १० छुट दिने गरिएको छ। भरतपुर महानगरपालिका-११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ। यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताए।
उनका अनुसार धेरै काठमाडौं, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ। उनले भने, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ।”
तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताए। जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन्।
बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ। चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ। पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij