शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मलको उत्पादन सुरु

  • प्रकाशित मिति : बिहिबार, साउन २२, २०८२



  • रुपन्देही । जिल्लाको तिलोत्तमाका युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन् ।

    ‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ । सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन् । हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ ।

    नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो । पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो ।

    जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताए । ‘यसका लागि अहिलेसम्म तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ’, उनले भने ।

    रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उनको भनाइ छ । ‘धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन् । यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ । फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्’, उनले भने ।

    ‘जैको’ प्राङ्गारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताए । दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

    के हो ‘जैको’ मल ?

    यो मल एक प्रकारको शतप्रतिशत प्राङ्गारिक मल हो । माटोका लागि अति महत्त्वपूर्ण मानिएको यो मल प्राकृतिक तरिकाले बनाइने कम्पनीका कोषाध्यक्ष सुरेन्द्रकुमार गौतमले बताए । यो मलको प्रयोगबाट बिरुवाको वृद्धि विकास भई उत्पादन पनि प्रशस्त हुने उनले उल्लेख गरे ।

    ‘यसमा गाईभैँसीको गोबर, वनजङ्गका अनावश्यक झारपात (औषधीय गुणले भरिपूर्ण), विभिन्न बालीका अनावश्यक झारपातलगायत वस्तु कुँहाएर प्राकृतिक तरिकाले मल उत्पादन गरिन्छ । यसमा पर्याप्त मात्रामा नाइट्रोजन, फोस्फरस, पोटासियम (एनपिके) र बिरुवाको वृद्धि विकासका लागि आवश्यक सूक्ष्म पोषक तत्त्वहरू पाइन्छन्’, गौतमले भने ।

    प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने माटो विज्ञ एवं कम्पनीका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताए । ‘यो गन्धरहित, पर्यावरणमैत्री र विषादीरहित बनेको छ । फूलका लागि प्रतिबिरुवा २०० ग्राम, फलफूलका लागि प्रतिबोट एक किलो , तरकारीका लागि प्रतिबोट २०० ग्राम आवश्यक पर्दछ । प्रयोग भएको प्याकेटलाई बन्द गरी सूर्यको प्रकाश र चिसोबाट टाढा राख्नु पर्दछ’, उनले भने ।

    यो मलमा भएका खाद्य तत्त्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले ती तत्त्वलाई सजिलैसँग प्राप्त गर्ने मगरले जानकारी दिए । यो मलमा भिटामिन, हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अतिआवश्यक पोषक तत्त्व र जैविक गतिविधि बढाउने सूक्ष्म जीवहरू पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा गुणस्तरीय रहेको उनले दाबी गरे ।

    ‘औषधीय गुण भएका पातपतिङ्गर, फोहर वस्तुबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ । यसले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले उत्पादनमा वृद्धि हुन्छ । साथै माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउछ’, विज्ञ मगरले भने ।

    कम्पनीले दैनिक करिब डेढ टन मल उत्पादन गरिरहेको सदस्य शान्ति मगरले जानकारी दिए । सुरुआती चरण भएकाले माग अनुसार मल बजारमा पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

    खेतीको याममा बढी खपत हुने भएकाले मागअनुसार आपूर्ति गर्न नसकिएको कम्पनीका अध्यक्ष यमबहादुर थापाले बताए । उनका अनुसार जैको मल रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, गुल्मी, नवलपरासी र स्याङ्जामा खपत हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij