प्रकाशित मिति : बिहिबार, मंसिर ४, २०८३
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ। पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित जसपाको केन्द्रीय समन्वय समितिको निर्णय प्राप्त भएपछि आयोगले बिहीबार (मङ्सिर ३ गते) सूचना प्रकाशन गरी ती पद रिक्त भएको सार्वजनिक गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम मङ्सिर २ गतेदेखि लागू हुने गरी उनीहरूको पद रिक्त हुने निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगको सूचनाअनुसार पद रिक्त हुने जनप्रतिनिधिहरूमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतो छन्। यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ।
त्यसैगरी, खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगा धन राईको पद गुमेको छ। सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पदसमेत स्वतः रिक्त भएको आयोगले जनाएको छ।
यसका साथै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij