शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हिरण्यवर्ण महाविहारमा शाक्यमुनि बुद्ध महास्नान र संघभोजन

  • प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४



  • काठमाडौं, कात्तिक १३ । ‘गोल्डेन टेम्पल’को नामले प्रख्यात हिरण्यवर्ण महाविहार, क्वाःबहालमा शाक्यमुनि बुद्धको महास्नान सम्पन्न भएको छ ।

    प्रत्येक बर्ष कार्तिक कृष्णपक्ष दशमीको दिन महास्नान गरिन्छ । यस बर्ष नवमी पर दशमी परेकोले आजै महास्नान गरिएको विहारका सदस्य बेताजु चक्रराज बज्राचार्यले बताए ।

    ५ जना जेष्ठ आःजुहरुले चार वटा कलश पूजा गरी सोही कलशमा रहेको गाईको दूधले शाक्यमुनि बुद्धको महास्नान गरेका हुन् ।

    शाक्यमुनि बुद्धको महास्नान लगत्तै यस मन्दिर अगाडी रहेको स्वयम्भु चैत्यको पनि महास्नान सम्पन्न गरिएको थियो ।

    महास्नानको प्रक्रियामा सहभागीले नामसंगिती वाचन गर्ने चलन पनि रहेको यस प्रक्रियामा नामसंगिती विहारभित्रकै नामसंगिती देवस्थलमा पालो परेका ब्यक्तिले प्रसादका रुपमा खीर भोजन अर्पण गर्ने गर्दछ ।

    यसपाली चित्रवीर बज्राचार्यले नामसंगितीको प्रसादका रुपमा खीर भोजन अर्पण गरेका छन् ।

    महास्नानकै अवसरमा विहारका ३५०० सदस्यहरुलाई संघ भोजन गराउने चलन पनि रहेको छ ।

    चुडाकर्म संस्कार सम्पन्न भइसकेका विहारका बज्राचार्य, शाक्य सदस्यहरु यस संघ भोजनमा सहभागी हुने गर्दछन् ।

    संघभोजनमा सबैभन्दा पहिले च्याम्हथी आःजु र क्रमशः २५ जना आःजु, विहारको परिषद् (द्यःपाःलाः) सदस्य, धाःबाजा खलः (समूह) र त्यसपछि संघका सदस्यहरु बसी भोज ग्रहण गर्ने चलन रहेको छ ।

    हिरण्यवर्ण महाविहारको शाक्यमुनि बुद्धको पुजारी पालो लिएको रोलक्रम अनुसार संघभोजनको आयोजना गर्ने जिम्मा दिइने चलन छ ।

    यस बर्ष जोशीननि, नागबहालका कनकराज शाक्यको नेतृत्वमा संघभोजन आयोजना भएको हो ।

    ने.सं. ११३४ को १२ महिनामा पुजारीको पालो लिएका १२ सदस्यहरुले संघभोजनको आयोजना गरेको हो ।

    संघभोजन अघि शाक्यमुनि बुद्धको पूजा गरिनुका साथै बाजागाजा सहित नगर परिक्रमा गराउने चलन रहेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij