शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

त्रिवेणीघाटमा माधवनारायण मेला शुरु, यस्तो छ पौराणिक महत्व

  • प्रकाशित मिति : मङ्लबार, पुस १८, २०७४



  • भक्तपुर, पुस १८ । हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ ।

    हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको हो ।

    श्रीस्वस्थानी वाचन सोमबारदेखि शुरु भए पनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले जानकारी दिए ।

    मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ ।

    साँखुको सालीनदी जस्तै हनुमानघाटको त्रिवेणीधाममा लाग्ने माधवनारायण मेलामा यस वर्ष तीन महिला र १२ पुरुष व्रत बसेका छन् । भूकम्पले संरचना भत्केकाले बस्ने ठाउँ नहुँदा यस वर्ष वर्तालुको संख्यामा निकै कमी आएको छ । व्रत बस्नेमा छदेखि ७५ वर्षका सम्म छन् ।

    व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिए ।

    नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ । यहाँस्थित त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ ।

    वर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गई त्रिवेणीमा बसेर स्नानपछि इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको माधवनारायणका अर्का पुजारी राजु राजोपाध्यायले बताए ।

    व्रतालु महिलाले त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र पुरुष वर्तालुले भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने तथा व्रतालु महिलासँगै विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने गरे पनि यस वर्ष भने महिलालाई पनि यहाँ बस्ने व्यवस्था नगरिएकाले वर्तालुको संख्या घटेको उनले बताए ।

    भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुनःनिर्माण शुरु गरिएकाले यस वर्ष बस्ने ठाउँको अभावका कारण राति बस्ने ब्यबस्था छैन । व्रतालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीमा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर मेला समापन गर्ने परम्परा छ ।

    रामलक्ष्मण वनवास आउँदा दहीचिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको बताइन्छ । उत्तरदक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले सो क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij