शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

२३ पुसपछि काठमाडौंका लागि एयर एसिया उडान रोकिन सक्ने!

  • प्रकाशित मिति : शुक्रबार, पुस २१, २०७४



  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ । यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्।

    विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार उक्त एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडालगायतमा उक्त बक्यौता तिर्नुपर्नेछ । यो बक्यौता तीन वर्षयताको हो । ‘हामीले पुस २३ गते (आइतबार) सम्मको म्याद दिएका छौं,’ उपाध्यायले भने, ‘आइतबारसम्म सबै रकम दाखिला नगरे उडान रोकिदिनेछौं ।’ त्यस्तो अवस्थामा उडान नगर्न सचेत गराउने, जहाज आइहाले यताबाट नफर्काउने विमानस्थलले जनाएको छ । ‘रकम नपाएसम्म जहाज काठमाडौंमै रोकिदिनेछौं,’ उनले कान्तिपुरसँग भने । एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडानभर्दै आएको छ । ‘हाम्रो उद्देश्य कुनै पनि एयरलाइन्सलाई रोक्ने होइन । न त रोकेर पैसा असुल नै हुन्छ । तर, यतिबेला हामी रोक्नुपर्ने अवस्थामा पुग्यौं,’ उपाध्यायले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो । सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको यस एयरलाइन्सको नेपाली जेनरल सेल्स एजेन्ट (जीएसए) लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो ।

    विमानस्थल प्रशासन र उसको तालुक निकाय बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणले धेरैपटक इन्सेन्टिभका कार्यकारी अध्यक्ष हरिमान लामालाई लिखितमै ताकेता गरिसकेको जनाएका छन् ।

    त्यस्तै, आन्तरिक उडानमा सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सले पनि डेढ/डेढ करोड हाराहारी ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसन, कोठा बहाललगायत सेवाको शुल्क तिर्न बाँकी छ । तिनलाई पनि तिर्न आइतबारकै म्याद दिइएको उपाध्यायले बताए ।

    यसैबीच एयर एसियाले पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । बोर्डका सीईओ दीपकराज जोशीका अनुसार उक्त एयरलाइन्सले प्रत्येक विदेशीबाट उठाउने पर्यटन सेवा शुल्कबाट बुझाउनुपर्ने रकम हो यो । नेपालबाट हवाईजहाजमा फर्किने हरेक विदेशीले एक हजार रुपैयाँ पर्यटन सेवा शुल्क अनिवार्य तिर्नुपर्छ । यो रकम एयरलाइन्सहरूले बोर्डको खातामा जम्मा गर्छन् । पर्यटन बोर्डको यो नै मुख्य आयस्रोत हो । ‘हरिमान लामाजीको कम्पनीलाई हामीले सयौं पटक ताकेता गर्‍यौं तर बक्यौता उठाउनै सकेनौं,’ सीईओ जोशीले भने, ‘हामीले उठाउनै नसकेपछि एक महिनाअघि पर्यटन मन्त्रालयलाई जानकारी गराउँदै नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई रकम उठाइदिन भनेका छौं ।’

    तारन्तरको ताकेतापछि लामाको कम्पनीले केही दिनअघि १८ लाखको चेक पर्यटन बोर्डमा बुझाएको थियो । तर, उक्त चेक बाउन्स भएको सीईओ जोशीले बताए । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सरकारलाई तिर्नुपर्ने दायित्व यसको नेपाली एजेन्ट कम्पनीको हो । तर, एयर एसिया एक्सका एजेन्ट हरिमान लामाले गर्दै आएको घरजग्गा कारोबार आरालो लागेका कारण सरकारी बक्यौता रहन गएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij