शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • भक्तपुर, माघ २० । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

    प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताए ।

    पूर्वमन्त्री बस्नेतले भने, ‘हामीले कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सात वटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डर ग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाइै डुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने कार्ययोजना अगाडि बढाएका छौं ।’

    सडक विभागअन्तर्गत वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले पटक पटक भएको छलफलपछि सुरुङ मार्ग निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, ‘सुरुङ मार्ग निर्माणको अध्ययन सम्पन्न भइसकेको छ, अब यही फेब्रुअरीको अन्तिममा जापानबाट आउने टोलीले काभ्रेको साँगामा स्थानीयवासीसँग एक पटक छलफल गरी भक्तपुर–साँगा सुरुङ मार्ग निर्माण कार्य थालनी गरिनेछ ।’

    उनका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमा भेन्टिलेटर र प्रशस्तै बत्तीको व्यवस्था हुनेछ । चौबीसै घण्टा उज्यालो देखिन्छ । यहाँ अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा जडान गरिएका हुनेछन्, आगलागी भएमा तत्कालै नियन्त्रण गर्न सकिने गरी व्यवस्थापन हुनेछ ।

    सुरुङ मार्ग निर्माणका लागि करिब ९५ प्रतिशत काम अगाडि बढिसकेको जानकारी दिँदै श्रेष्ठले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए । पलाँसेबाट प्रवेश गरेर साँगा नासिका स्थानमा निस्कने गरी सुरुङ मार्ग निर्माण हुनेछ । सो सुरुङबाट एकै पटक चार वटा गाडी प्रवेश गर्न सक्नेछन् । यस्तै कोटेश्वर–जडीबुटी भक्तपुर सडकमा अत्यधिक बढ्दो सडक जाम घटाउनका लागि कोटेश्वरको मुनिभैरव स्थानबाट जडीबुटी निस्कने गरी अर्को सुरुङ मार्ग निर्माण हुने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरु भएको श्रेष्ठले बताए । जाइकाकै सहुलियत ऋण सहयोगमा सुरुङ मार्ग निर्माण गर्न जाइका तत्पर रहेको जानकारी दिँदै उनले यहाँको सुरुङ मार्गमा पनि बत्ती र क्यामरा राख्ने तथा त्यसको निरीक्षण बाहिरबाट गर्नसक्ने गरी व्यवस्थापन गरिने बताए । उनका अनुसार यसका लागि आवश्यक सर्वेक्षण तत्कालै अगाडि बढाइनेछ ।

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जय गौतमले सुरुङ मार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न संस्था तयार रहेको बताए । प्राधिकरणकै इञ्जिनियर ध्रुव बाथेगया र निर्देशक बाबुराम पौडेलले विमानस्थललाई कुनै पनि बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न सकिने स्पष्ट गरे ।

    विमानस्थलको सर्वे लाइट र सुरक्षालाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न उपयुक्त हुने उनीहरुको भनाइ थियो । कोटेश्वर–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाका प्रमुख राकेश महर्जनले कोटेश्वरबाट भक्तपुर हुँदै पूर्व जाने सडकमा सवारी चाप अत्यधिक बढ्दै गएकाले सडक विस्तार र सुरुङ मार्ग निर्माणमा ढिलाइ गर्न नहुने प्रतिक्रिया दिए ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्रनाथ खनालले अहिलेकै सडक संरचनामा सवारी चापलाई व्यवस्थापन गर्न कठिन भइसकेकाले सुरुङ मार्गको काम तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रदेश सांसद शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले सुरुङ मार्गसँगै सरकारले गाडी गुड्ने आकाशेपुल निर्माणमा पनि चासो दिनुपर्ने बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij