प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३
जलेश्वर । आज आईतवार अष्टमीको दिन माता कालरात्रीको पुजा गरिँदैछ । जलेश्वरको राजदेवी,संसारीमाई स्थान,जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेकी माता त्रिशुली र जलेश्वरको दुर्गाचोक र शंकरचोकमा स्थापित शक्ति पिठहरुमा माताको दर्शन गर्न हजारौको भिड लागेको छ ।
जलेश्वरसँगै मटिहानी,पिपरा,सोनामाई,बथनाहामा समेत भक्तजनको घुईचो लागेको छ । सप्तमीदेखि नै यहाँ बलि समेत दिने गरिएको छ । आजै जलेश्वरको राजदेवी मन्दिर लगायतका शक्तिपिठहरुमा हजारौँको संख्यामा बलि दिइनेछ ।
यसपाली भने केहि स्थानमा मुर्ती सजावट, मेला व्यवस्थापन लगायतमा केहि नयापन समेत देखिएको छ । जलेश्वरको दुर्गाचोकमा निर्माण गरिएको मुर्तीमा कुनै वाह्य सजावट गरिएको छैन । दरभंगाका कारिगरले माताको सम्पुर्ण श्रृगांर माटो र पेन्टबाटै गरेका छन । यहा बुधवार धार्मिक सांस्कृतिक नृत्यको साथै खुल्ला दिशामुक्तको लागि समेत सचेतना फैलाईने दुर्गा पुजा कमिटिका अध्यक्ष शिवचन्द्र चौधरी बताउँछन् ।
त्यस्तै जलेश्वरमा मेलामा रौनकता ल्याउन शंकरचोक स्थित दुर्गा पुजा समितिले दशमीका दिन रावण वध गरिने आयोजक समितिले जनाएको छ । यता मटिहानीमा कलश यात्राका दिन नाच्ने घोडा ल्याईएको थियोे भने विसर्जनका दिन हात्ती ल्याईने स्थानीय तथा नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व सभापति हरि प्रसाद मण्डलले जनाएका छन । साथै बथनाहा(मरुवाही) र पिपरा लगायतका महोत्तरीका विभिन्न स्थानमा वडो धुमधामका साथ माताको पूजा गरिन्छ ।
त्यसतै दुर्गापुजाको समय झिँझियाको समेत अति महत्व रहेको छ । विगतभन्दा महोत्तरीमा झिझिया खेलिने क्रम घटेपनि केहि स्थानमा भने झिझिया नृत्य अझै विस्थापित भएको छैन । जलेश्वर नगरपालिकाका वडा नं. ५,२,४ र १३ नं. वडाहरु तथा विभिन्न ग्रामिण भेग र क्षेत्रहरुमा झिझिया नाच यसपाली पनि खेलिँदैछ । झिझिया नाचको समुहमा ८ देखि २५ जनासम्मको समुहमा खेलिने गरिएको जलेश्वर १३ कि झिझिया नाँच समुहीक राम दुलारी देवी पासमान बताउँछिन् । उनका अनुसार विगतहरुमा झिझिया नाचलाई विशेष ग्राहयता दिने गरिएपनि हाल भने पूजा व्यवस्थापन समितिहरुले झिझिया नाच्नेहरुलाई खासै महत्व नदिँदा या लोप हुने अवस्थामा पुगेको उनी बताउँछिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij