आइबीएमभन्दा २ वर्ष पहिले नेपालमा नेपालीले नै माइक्रो कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका छन् । राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता कम्प्युटर वैज्ञानिक मुनि शाक्यले गरेका छन् भने राज्यले पहिचान दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ ।
प्रविधि प्रयोगमार्फत देश विकासका लागि, आइसिटी पत्रकार विकास मञ्च को आइसिटी खोज पत्रकारीता अभियानलाई व्यापक जनसमर्थन जनाई देशव्यापी ग्रीन कम्प्युटर प्रयोगका लागि सूचना प्रविधिप्रेमी तथा आम नागरिकमा अपिल ! गर्दछौ ।
विगत ४० वर्षको इतिहास बोकेको हाइटेक पायोनियर कम्प्युटर उत्पादन केन्द्रका वैज्ञानिक एवं कम्प्युटर विज्ञ मुनि बहादुर शाक्य जो आज पनि नेपालमा विज्ञान तथा प्रविधिको खोज अनुसन्धान, आविष्कार र प्रयोगमा उत्तिकै खटिरहेका छन् । शाक्यले सन् १९७९ मा आइबिएम कम्पनीको सोचभन्दा अगाडी रहेर नेपालबाटै पहिलो माइक्रो कम्प्युटर बनाएर नेपाल प्रविधि आविष्कार र प्रयोगमा अगाडी रहेको सन्देश विश्वभरि पु¥याए । सन् १९८३ मा देवनागरी लिपीको विकास गरेका शाक्यले वि.सं २०६३ सालमा सुपर कम्प्युटर सिष्टमको विकास नेपालमै गरे ।
शाक्यले अहिले ३५ वाट क्षमतामा चल्ने ग्रिन कम्प्युटरको विकास गरी सफल परीक्षण समेत गरिसकेका छन् । नेपालमा नै बनेको ग्रीन कम्प्युटरले जम्मा ३५ वाट बिद्युत मात्र खपत गर्दछ, जसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक १८ घण्टा भन्दा बढी चलाउन सकिन्छ । त्यतिमात्र होइन शाक्यले ५ वाटको ग्रिन कम्प्युटरको समेत आविष्कार गरिसक्नुभएको छ । जुन सरोवर ब्याकअप कम्प्युटरको लागि अति उपयोगी छ ।


