प्रकाशित मिति : आइतवार, अशोज १६, २०७३
काठमाडौं । एमबीबीएस डाक्टर अध्ययन गर्दै गरेकी एक युवतीलाई परीक्षामा पास गराइदिने भन्दै रकम असुल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं विश्वविद्यालयमा अध्ययनरत सिन्धुली आम्बोटे घर भई काठमाडौंको नागार्जुन बस्ने विमला पन्तको छोरी सायसा पन्तलाई परीक्षाामा पास गराइदिने भन्दै दुई लाख असुल्न खोज्ने पुतलीसडकस्थित वर्ल्ड वाइड कन्सल्टेन्सीका सञ्चालक दिपक कुमार शाह र कर्मचारी गणेश अधिकारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ ।
गणेशले आफू कन्सल्टेन्सीमा कार्यरत रहेको र विश्वविद्यालयका डाक्टरहरुसँग राम्रो चिनजान रहेको भन्दै दुई लाख माग गरेका थिए । तर सायसाको परिवारलाई शंका लागेपछि प्रहरीमा उजुरी दिएका थिए भने पछि विभिन्न आश्वासन दिँदै रकम असुली गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
गणेश पक्राउ परेसँगै उनले दिएको बयानबाट कन्सल्टेन्सीका सञ्चालक शाहको निर्देशनमा यस्तो धन्दा हुने खुलेपछि शाहलाई पनि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शाह नक्कली समेत डाक्टर भएको खुल्न आएको बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij