आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नियन्त्रण बाहिर ठमेलको यौन धन्दा

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ । गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ । रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्काे रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे ।
    दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १०/११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ । ग्राहकको आवतजावत भइरहन्छ । पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् ।

    अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र ‘लोकल’ रक्सी भने सहजै उपलब्ध हुन्छ । मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ । रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भन्र्दै हुनुहुन्थ्यो, “पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ !”ठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन । साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् ।

    रक्स बार रेस्टुरेन्ट हो कि होटल ? कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा ! १८ वर्ष उमेर नकटेकी जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् । ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् । लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् ।काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ । उनीहरू पालैपालो माथि चढ्छन् । युवती अलिपछि कागजको पोको बोकेर जान्छन् । उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्नेगरी दिइन्छ । त्यो वस्तु हो– कन्डम ।

    देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् । ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् । त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् । स्टाफ (युवती) र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् । ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ । केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् । त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ । नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, “प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ?”

    ठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्, “ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू । ”हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए । रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए । ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक (सई) लाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् । सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् । रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ । कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् ।

    स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ । एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ । यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ । “हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ”, एउटा खाजाघरकी सञ्चालिकाले भन्नुभयो, “तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ । प्रहरीलाई खबर ग¥यो, उल्टै पैसा खाएर छाड्छन् । ”
    रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ । सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ । देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् । कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवं खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij