प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३
काठमाडौँ । नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् ।
वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर प्रमाणपत्र बनाएको खुलेको थियो ।
महाशाखाका प्रहरी टोलीले थापालाई साथै लिएर साइबरमा गई अर्को नक्कली प्रमाणपत्र बनाउन आग्रह गर्दा रु एक हजार लिई अर्को नक्कली प्रमाणपत्र बनाइदिएपछि प्रहरीले रङ्गेहात दुवैजनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट उक्त कागजात वैदेशिक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागि आउने व्यक्तिलाई आवश्यकताअनुसार प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच थान, त्रिविको ट्रान्सक्रिप्ट एक थान, नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड एक थान, अधिकृतको छाप एक थान, विभिन्न दूतावासको लेटरप्याड बरामद गरेको छ ।
यसैबीच लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५० ग्रामसहित कलङ्कीबाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा जिल्ला मेची नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडौँ चन्द्रागिरि नगरपालिकाका २७ वर्षीय दिलीप शाही रहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij